हेटौंडाः जिल्ला कोभिड–१९, संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले बेलुका ७ बजेसम्म हेटौंडा बजारमा पसल–व्यवसाय खोल्न पाउने निर्णय गरेको छ । अर्को सूचना नभएसम्म साँझ ७ बजेसम्म बजार खोल्न पाउने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले आज बसेको बैठकले होटलमा बास बस्नका लागि मात्रै ९ बजेसम्म खोल्न पाउने । रेष्टुरेन्ट तथा खाजा घरहरुबाट लिएर जाने (टेक अवे) मात्र सञ्चालनगर्न पाउने निर्णय गरेको जानकारी दिनुभयो । यस्तै स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा नगरी सार्वजनिक सवारी चलाएमा कारबाहीको दायरामा ल्याइने भएको छ । औद्योगिक क्षेत्रको व्यवस्थापनमा भने उद्योग परिसर भित्रै कर्मचारी व्यवस्थापन सम्भव भएसम्म गर्नुपर्ने, उद्योगबाट छुटेपछि कर्मचारी समाजका अन्य व्यक्तिसँग घुलमिल नगर्ने वातावरण मिलाउनुपर्ने छ । यसको व्यवस्थापन उद्योग संघ मकवानपुर र मकवानपुर उद्योग वाणिज्य संघले गनुपर्ने भएको छ ।
बाहिरी जिल्लाबाट श्रमिक ल्याउनुपर्दा पिसिआर टेस्ट गराई नेगेटिभ आएका ७२ घण्टाभित्र ल्याइसक्नुपर्ने निर्णय कमाण्ड पोष्टले गरेकोे छ । विकास आयोजना तथा निर्माणका काममा स्वास्थ्य सुरक्षा अपनाएर गर्न पाउने तथा आजबाट भारत लगायत तेस्रो मुलुकबाट आएर हेटौंडामा होल्ड गर्ने हेटौंडा–१० को वनविज्ञान अध्ययन संस्थानको होल्डिङ सेन्टर बन्द गर्ने निर्णय भएको छ । अर्को निर्णय नभएसम्म जिल्लामा सबै शैक्षिक संस्थाहरु, शैक्षिक र परीक्षा सञ्चालन, सभा, गोष्ठि, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, पुस्तकालय, स्पा, सैलुन तथा व्यूटीपार्लर, खेल मैदान, धार्मिक संस्था, जिमखाना लगायत भने खोल्न नपाउने भएको छ ।