हेटौंडाः दोलखामा कार्यरत प्रहरी निरीक्षक सुनजित तामाङ भदौ महिनाको कार्यसम्पादनमा प्रदेशकै सर्वोत्कृष्ट प्रहरीको रुपमा सम्मानित हुनुभएको छ ।

काठमाडौं दरबन्दी भई दोलखा जिल्लाको सिंगटीस्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक सुनजित तामाङले विभिन्न गैरकानूनी क्रियाकलापमा संलग्न व्यक्तिहरु लगायत फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानूनको दायरामा ल्याएको, आफ्नो ईलाकामा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम राख्न सफल भएको, कोभिड–१९ को महामारी बिरुद्ध जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन लगायत संक्रमित व्यक्तिहरुको व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गरेको, वर्षातका कारण बाढीपहिरोको उच्च जोखिममा रहेका बस्तिलाई सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरी पुरस्कृत गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका सूचना समन्वय अधिकारी प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिनुभयो ।
बागमती प्रदेश प्रहरी कार्यालयले मातहतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये उत्कृष्ट कार्य गर्ने एकजना प्रहरीलाई हरेक महिना सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्दै आएको छ । सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणाका लागि बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका दश वटा जिल्ला प्रहरी कार्यालय, तालिम केन्द्र, गण, दंगा र प्रदेश ट्राफिक गरी १६ वटा प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीको कार्य विवरण प्राप्त गरी एकजनालाई उत्कृष्ट प्रदेश प्रहरी घोषणा हुने व्यवस्था गरिएको हो । श्रावण महिनामा मात्रै १५ जना प्रहरी कर्मचारी पुरस्कृत भएका थिए भने भदौ महिना पनि सोही संख्यामा प्रहरी कर्मचारी पुरस्कृत भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।