हेटौंडाः हेटौंडा–१३, पदमपोखरीबाट मानवसेवा आश्रमका अभियन्ताले उद्दार गरिएकी बालिकालाई परिवारको जिम्मा लगाइएको छ । स्थायी घर झापा जिल्लाको चुलाचुली गाउँपालिका भएकी १६ वर्षीया टिका कोइराला (बिक) लाई असोज १ गते मानवसेवा आश्रमका अभियन्ताले उद्दार गरेको थियो ।
ती बालिका विवाहित भएको र उनलाई श्रीमान् हेटौंडा–९, पशुपतिनगरका देव लामाको जिम्मा लगाइएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभएको छ । आइतबार श्रीमान् देव लामालाई आवश्यक परामर्श गरी साताको एकदिन आश्रममा सम्पर्कमा रहन समेत जानकारी गराएर पठाइएको मानवसेवा आश्रमका अध्यक्ष अधिकारीले बताउनुभएको छ ।
देव लामाको यसअघिका दुई विवाहमा सम्बन्ध बिच्छेद भइसकेको र बालिकाको पनि यसअघि एउटा वैवाहिक सम्बन्धविच्छेद भएको पाइएको आश्रमका अभियन्ताले बताएका छन् । प्रहरीसँगको समन्वयमा बालिकालाई श्रीमानको जिम्मा लगाइएको हो ।