हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले असोज २५ गते वार्षिक समिक्षा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिको आइतबार बसेको ६६ औं बोर्ड बैठकले आगामी २५ गते वार्षिक समिक्षा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । कोभिडका कारण रोकिएको आर्थिक वर्ष २०७६/७७ को समिक्षा कार्यक्रम स्वास्थ्य सुरक्षाको मापदण्डहरु पूरा गरेर आयोजना गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । भदौ महिनामै आयोजना गर्नुपर्ने कार्यक्रम कोभिडका कारण रोकिएको थियो ।

त्यस्तै बैठकले जिल्लाका १० वटै स्थानीय तहमा प्रथम चौमासिकको अनुगमनमा जाने निर्णय गरेको छ । स्थानीय तहहरुमा नीति तथा कार्यक्रम पारित भए अनुसार उपभोक्ता समिति गठन तथा नीति कार्यक्रम कार्यान्वयनको अवस्था साथै जिससको मौजदात कोषको रकमबाट सञ्चालित र चालु आर्थिक वर्षमा सञ्चालन हुने आयोजनाका सम्बन्धमा छलफल तथा अनुगमन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकले आगामी ६ गते ढुंगा, गिट्टी, बालुवा जिल्ला अनुगमन समिति र स्थानीय तह समन्वय बैठक संयुक्त रुपमा आयोजना गर्ने निर्णय गरेको छ ।

मौजदात कोषको रकम परिचालन, वातावरणीय प्रभाव मूल्याङ्कन (आइईई) मापदण्ड तथा खानेपानी मुहान दर्ता सम्बन्धमा छलफल गर्ने उद्देश्यले संयुक्त बैठक आयोजना गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । स्थानीय तहहरुमा ऐन नियमको अभावमा खानेपानी मुहान दर्ता नहुँदा जनतालाई समस्या परेको साथै मापदण्ड अनुसार आइईई गर्न समस्या हुँदा स्थानीय तहहरुमा समस्या देखिएकाले दुबै विषयमा छलफल गरेर निकास निकाल्ने उद्देश्यले बैठक आयोजना गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

बैठकले जिल्ला समन्वय समिति मकवानपुरले सञ्चालन गरेको होल्डिङ सेन्टर बन्द गरिएको बारेमा बैठकलाई जानकारी गराउनुका साथै होल्डिङ सेन्टर सञ्चालनमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद व्यक्त गर्ने निर्णय गरेको छ । बैठकले जिल्लामा कोभिडको अवस्थाको बारेमा समिक्षा गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डहरु अवलम्बन गर्दै नियमित काममा लाग्न सम्पुर्ण मकवानपुरबासीलाई आव्हान गर्ने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो । बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, जिससका सदस्यहरु गणेश कुमारी श्रेष्ठ, देवराज रिमाल, सीता अधिकारी, सानुकान्छी स्याङ्तान, सरिता विश्वकर्मा, बुद्धिबहादुर मुक्तान, चित्रबहादु बलामीलगायत कार्यालयका कर्मचारीहरुको सहभागिता थियो ।