हेटौँडाः हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा वृत्तिमार्ग निर्देशनसम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । हेटौँडा उपमहनगरपालिका शिक्षा विकास महाशाखाको आयोजना तथा इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा सोमबार कार्यक्रम भएको हो ।

कार्यक्रममा कक्षा ११ का १८ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहजकर्ता जमुना थापाले विद्यार्थीहरूलाई वृत्ति छनोट गर्दा ध्यान दिनुपर्ने विषयहरूमा मार्गनिर्देशन गर्नुभएको थियो । कार्यक्रममा सहभागी विद्यार्थी अञ्जली घिमिरेले कार्यक्रम विद्यार्थीहरूका लागि अत्यन्तै प्रभावकारी र आवश्यक रहेको बताउनुभयो । आफ्नो रुचि, खुबी र क्षमता अनुसारको वृत्ति छनोट गर्नुपर्छ भन्ने कुरा आफूहरुले प्रस्टरूपमा सिक्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

शिक्षा विकास महाशाखाका प्रमुख हरिचन्द्र सापकोटाले आगामी दिनमा अन्य क्याम्पसका विद्यार्थीहरुलाई पनि समेटेर कार्यक्रमलाई अझ वृहत्रुपमा सञ्चालन गर्ने बताउनुभयो । कार्यक्रममा महाशाखाका राजमणि शर्मा, विद्यालयका शिक्षक टीकाप्रसाद दाहाललगायतको उपस्थिति रहेको थियो ।