सांकेतिक चित्रः गुगल ।

हेटौंडाः आज बिहान घरमै मृत्यु भएका मनहरी गाउँपालिका–८, सिम्पानीका एक वृद्धमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दम र उच्च रक्तचापसम्बन्धी सामान्य समस्या भएका ६८ वर्षीय वृद्धको घरमै निधन भएपछि स्वाब संकलन गरिएको थियो ।

सँगै घर भएका भतिज कोरोना संक्रमित भई आइसोलेसनमा रहेकाले मृतक वृद्धको स्वाब परीक्षण गरिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । बिहान साढे ११ बजे स्वाब संकलन गरेर हेटौंडास्थित प्रादेशिक कोरोना प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । साँझ प्राप्त रिपोर्टअनुसार कोरोना संक्रमण पुष्टि भएको अध्यक्ष उप्रेतीले बताउनुभयो । कोरोना संक्रमण पुष्टि भएका वृद्धको अन्त्येष्टी भोलि बिहान नेपाली सेनाले गर्ने गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभएको छ ।