हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकामा एक जोडी बालविवाहमा रोक लगाइएको छ । भीमफेदी–१ का १९ वर्षीय किशोर र मकवानपुरगढी गाउँपािलका–१ की १५वर्षीया बालिकाबीच हुन लागेको विवाह स्थलगत भ्रमणबाट रोकिएको सिविन मकवानपुरका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।

सिविन नेपालद्वारा सञ्चालित बाल हेल्पलाइनको पैसा नलाग्ने फोन १०९८ मा बालविवाह हुन लागेको भन्ने गोप्य सूचना प्राप्त भएपश्चात् बालविवाह रोकथामका लागि भीमफेदी–१ का वडा अध्यक्ष श्यामकुमार बल, मकवानपुरगढी गाउँपालिका–१ का वडाध्यक्ष आइत सिंह लो, मकवानपुरगढी गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापा, सिविन बाल हेल्पलाइन मकवानपुरका जिल्ला संयोजक झविन्द्र ज्ञवाली, सामाजिक विकास मन्त्रालयका बालविवाहमुक्त प्रदेश अभियानकी सहजकर्ता पबिना लामाको टोली घटना स्थलमा पुगेर विवाह रोकिएको हो । विवाह हुन लागेका केटा र केटी दूवै पक्षका अभिभावक र सरोकारवालाहरुको रोहवरमा टोलीबाट सहजीकरण भएको व्यापक छलफल तथा अन्तरक्रियाबाट अन्तमा दुबै पक्षले बालविवाह नगर्ने समुदाय समक्ष प्रतिबद्धता जाहेर गरेपछि विवाह रोक्न सफल भएको मकवानपुरगढी गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापाले बताउनुभयो ।

छलफलमा बालविवाह, यसका कानुनी प्रावधान, सचेतना तथा स्थानीय तहको बालमैत्री अभियानमा बालविवाहले पार्ने असर तथा चुनैतिका बारेमा उपस्थित सबैलाई जानकारी गराइएको भीमफेदी–१ का अध्यक्ष श्याककुमार बलले बताउनुभयो । बाल हेल्पलाइनमा विगत ८ महिनाको अवधिमा ७० वटा बालविवाह सम्बन्धी घटना दर्ता भएकोमा ६० वटा विवाह बदर भएको हेल्पलाइनले जनाएको छ ।