झरना साहित्यिक परिवार मकवानपुर जिल्लाको क्रियाशील साहित्यिक संस्था हो । मकवानपुरको ग्रामीण क्षेत्रमा बकैया गाउँपालिकाको छतिवनमा विद्यालय तहका शिक्षकको सक्रियता र विद्यार्थी समेतको सहभागितमा २०५० सालमा स्थापित झरनाले साहित्यको क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको छ । २७ वर्षदेखि झोलामा रहेको साहित्यिक संस्थालाई बकैया गाउँपालिकाले भौतिक संरचना निर्माण गर्न भनेर बुधबार एक कठ्ठा जमिन भोगाधिकारका लागि दिने निर्णय गरेको छ । जग्गाको भोगाधिकार पाएसँगै तीनतल्ले भवन बनाएर आर्थिक रुपमा समेत आत्मनिर्भर साहित्यिक संस्था बनाउने योजना रहेको सुनाउनुहुन्छ झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतम । गौतमसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः झरना साहित्यिक परिवारले जग्गाको भोगाधिकार पाएको छ । जग्गा प्राप्तिपछिको तपाईहरुको योजना के छ ?
गौतमः हाम्रो योजना भनेको स्थपनाकाल २०५० सालदेखि झरना साहित्यिक परिवार मकवानपुर क्रियाशील हुँदैआएको छ । अहिले २७ वर्ष बितिसकेको छ । अहिले झोलामै कार्यालय राखेर हिँडिरहेका थियौं । पहिलो कुरा कार्यालय स्थापना गर्नु हो । दोस्रो भनेको एउटा कार्यक्रम गर्ने सभाहल लगभग १५० जना सहभागी भएर कार्यक्रम गर्ने नियमित जोडिने रुपमा त्यसलाई स्थापना गर्ने हो । साथसाथै कम्तिमा साहित्यिक संस्था र हामीले लेखन संस्कृति र पठन संस्कृतिको माध्यमबाट एउटा समृद्ध सचेत सृजनशील गाउँपालिका बनाउनुपर्छ भन्ने हाम्रो अविष्ट रहने हुनाले हामीले एउटा पुस्तकालय स्थापना गर्ने उद्देश्य राखेका छौं ।
समाजः साहित्यमा पालिकाको भूमिकालाई सकारात्मक बनाउन, त्यो जग्गा प्राप्त गर्नका लागि तपाईहरुको प्रयत्न चाही कस्तो रह्यो ?
गौतमः जग्गा प्राप्तिका लागि व्यापक रुपमा हामी लाग्यौं । संस्था स्थापना भएको २७ वर्षे भए तापनि पछिल्लो समय हामी लगभग डेढ वर्ष अगाडिदेखि छुट्टै भवन आफ्नो कार्यालय चाहिन्छ भने विषयमा त्यसका लागि जग्गा खोजी विषयमा लागिरहेका थियौं । अहिले पक्कै पनि बकैया गाउँपालिकामा त्यत्ति गाह्रो भएन । सम्भावित जग्गाको खोजी गर्ने कुरामा चाही व्यापक गृहकार्य ग¥यौं । तथापी त्यहाँ सचेत खालका व्यक्तिहरु, राजनीति समाजसेवी व्यक्तित्वहरु बस्नु भएको हुनाले सबै सकारात्मक लगभग धेरैजसो झरनाको आजीवन सदस्य, विशिष्ट आजीवन सदस्य पुरस्कार संस्था हुनु भएको हिसाबले पनि हिजोदेखि नै झरनालाई माया गर्दै आउनु भएको हिसाबले त्यती गाह्रो चाही परेन ।
समाजः स्थानीय सरकारको रुपमा पालिकाले साहित्यको क्षेत्रमा लगानी गर्न तपाइहरुले कसरी बुझाउनु भयो ?
गौतमः यो विषयमा बकैया साहित्य महोत्सव २०७६ मा पनि एउटा बहस नै गरेका थियौं । पालिका अध्यक्ष्ँ, उपाध्यक्ष राखेर र एकजना विकासका जनकार व्यक्तित्वमार्फत हामीले बहसै गरेका थियौं । हाम्रो कुरा चाहीँ के भने सडक बनेर, पुल बनेर, ठूला–ठूला भवन बनेर मात्र कुनैपनि राष्ट्रको उन्नति हुँदैन । त्यसलाई मात्र समृद्धि भन्न मिल्दैन । समृद्धि मानिसको चेतना अभिवृद्धिमा हुनुपर्छ । त्यसका लागि पठन संस्कृति र लेखन संस्कृति अपरिहार्य छ । त्यसका लागि टोल–टोलमा सकेसम्म घर–घरमा हो । अबको अवश्यकता टोल–टोलमा पुस्तकालय हुनुपर्छ । त्यो कोणबाट बहस गर्दै गएरपछि यो कुरा सम्भव भएको हो ।
समाजः जग्गा प्राप्तिको एउटा चरण सकियो । अब भवन निर्माणका लागि तपाईहरुले यति बेलासम्ममा थप सहयोगको लागि के कतिको प्रतिबद्धता प्राप्त गरिसक्नु भयो ? तपाइहरुको तयारी के छ ?
गौतमः त्यसो त हामीले जग्गा प्राप्त गर्नु भन्दा अगाडि पनि एउटा खालको लगभग ३० लाख बराबरको बजेटको माग गरेका थियौं । तर पहिला जग्गाको निश्चित नगरिकन भवनको बजेट ल्याएर मात्र भएन । त्यसकारणले हामीले यो कुरा सँगसँगै यही आर्थिक वर्षमा प्रस्ताव पनि पेश गर्दैछौं । एउटा डिपिआरसहित हामी प्रस्ताव पेश गछौं । पालिकाले पनि प्रतिबद्धता जनाएको छ । भवन निर्माणका लागि सहयोग गर्छौं भनेर भन्नुभएको छ । अब त्यसो भन्दैमा सम्पूर्ण खर्च पालिकाबाट मात्र अपेक्षा गरेका छैनौं । कम्तिमा एउटा फाउण्डेसन लेभलको कुरा र एउटा निश्चित तहसम्मको चाही उहाँहरुले सहयोग गर्नुभयो भने हाम्रो थुप्रै राजनीतिक व्यक्तित्वहरु, सभासदहरु, सांसदहरु, एनआरएन क्षेत्रका हुनुहुन्छ । उद्योगी, व्यवसायी सबै क्षेत्रमा हामी पुगेर एउटा सहयोग संकलन गर्ने अभियानमा विशेष अभियानको नेतृत्व पनि झरनाले गर्छ ।
त्यसैले सबैको सर्वपक्षीय सहयोगबाट हामीले एउटा विस्तृत योजना बनाएका छौं ।
एउटा तल्लाको एउटा भुईतल्लाको मात्र छैन हामीले एउटा चाहीँ सञ्चारहरुका कुराहरु पनि जोडेर कताकता बकैयाले रेडियोका कुराहरु जोडिराखेको छ । त्यसमा पनि झरनाले नै सहकार्य गर्न सक्छ । यी कुरा गर्दैगर्दा खेरी अलिकति कम्तिमा सबैभन्दा पहिला हामी विस्तृत योजना बनाउँछौं । के–के गर्ने हामीले त्यो योजना बनाउँछौं । त्यसका लागि हाम्रो न्यूनतम सोचमा चाही एउटा तीनतल्ले भवनसम्मको योजना बनाएका छौं । त्यो फाउण्डेशन लेभलमा चाही एउटा व्यावसायिक किसिमले सटरहरु निर्माण हुनसक्ने छ । त्यसले भोलि संस्थालाई दिगो आम्दानी होस् । पालिकासँग माग्न नपरोस् भन्ने हाम्रो योजना पनि छ । दोस्रो तल्लामा हाम्रो अहिलेसम्मको सल्लाह अनुसार एउटा कार्यालय र सभाहल राख्ने र तेस्रो तल्लामा पुस्तकालय राख्न सक्नेसम्म योजना बनाएका छौं । यसरी गर्दैगर्दा सर्वपक्षीय क्षेत्रमा सहयोगका लागि जान्छौं ।
समाजः साहित्यले चाहीँ समाजलाई कस्तो योगदान दिइरहेको छ ? समाजलाई कस्तो लाभ भइराखेको छ ?
गौतमः मैले व्यक्तिगत रुपमा भन्नु भन्दा पनि मेरो आफ्नै पनि त्यो झरनाको स्कूलिङ्गबाट अगाडि बडिरहेको पात्र हुँ । म जस्ता थुप्रै दर्जनौं पात्र हेटौंडा हुनुहुन्छ । हेटौंडा मात्र होइन अहिले क्यानडा, अस्ट्रेलिया, अमेरिकामा हुनुहुन्छ । काठमाडौंमा पत्रकारिता गर्ने, निजामति कर्मचारी हुनुहुन्छ । चिकित्सा क्षेत्रमा लागेका व्यक्तिहरु, शिक्षक, प्राध्यापक, जुन पेशामा लाग्नु भएका प्रत्येक व्यक्तिले के भन्नु हुन्छ भने कम्तिमा झरनाको भेलामा वार्षिक कार्यक्रममा कुनै कुनै अवसरका कार्यक्रममा भेट हुँदाखेरी मलाई प्रोफेसर बनाएको, मलाई पत्रकार बनाएको, मलाई साहित्यकार बनाएको, मलाई शिक्षक बनाएको, निजामति कर्मचारी बनाएको, यतिसम्म कि डाक्टर, इन्जिनियर बनाएको पनि झरनाले हो । किन कि झरनाले पठन तथा लेखन संस्कृतिमा एकदम मज्जाले भिजायो । त्यसकारण म सफल छु । त्यस्ता सबै सफल व्यक्तिहरु झरनाका गौरव हुनुहुन्छ । त्यसकारण साहित्यले समाजलाई दिएको योगदानको विषयमा यो भन्दा ठूलो प्रमाण अर्को दिइरहनुपर्ने जस्तो लाग्दैन ।
समाजः पठन र लेखन संस्कृतिका लागि झरनाले कस्ता क्रियाकलापहरु गरिराखेका छन् ?
गौतमः यसका लागि हामीले अबको नयाँ पुस्ता सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान भन्ने नारा साथ विविध कार्यक्रम गरिरहेका छौं । हामीले ५० भन्दा बढी विद्यालयमा साहित्यिक प्रशिक्षण, अभिमुखीकरण कार्यक्रम गरेका छौं । बकैया गाउँपालिका मात्रै नभएर जिल्लाका विभिन्न स्थानमा हामीले कार्यक्रम गरेका छौं । मकवानपुरका अन्य साहित्यिक संस्थाभन्दा हामी अगाडि रहेर र ५० वटा विद्यालय र कलेजहरुमा पुगेर हामीले काव्य गोष्ठीहरु गरिरहेका छौं । सबभन्दा पहिला विधा केन्द्रित रचनाहरु लेख्न सिकाईरहेका छौं । किन लेख्न सिकाइरहेका छौं भने आजको मुक्तक लेख्ने मँन्छे गजल लेख्ने, कविता लेख्ने, लघु कथा लेख्ने मान्छे चाही यसले कम्तिमा लेख्न थाल्छ । लेख्नका लागि अर्काे किताब पढ्छ । पढ्ने बानी हुँदै गईसकेपछि धेरै अरु कृतिहरु पढ्छन् । त्यसकारणले हामीले यतिखेर लेख्ने कुराको सिकाईमा गईरहेका छौं ।
प्रत्येक विद्यालयमा पुगेर बालसाहित्य समिति गठन गरिरहेका छौं । त्यो बाल साहित्य समितिको माध्यमबाट प्रत्येक विद्यालयमा पुस्तकालयमा माग गराईरहेका छौं । कम्तिमा राम्रो पठनीय किताबहरु हुन भन्ने त्यसमा लागिरहेका छौं । ती बाल साहित्यका भाईबहिनीहरुले कम्तिमा आफ्नो घरबाट आफ्नो घमा ४०/५० वटा किताबहरु हुनुपर्छ भनेर हामीले त्यो खालको अभियान जोड्दै गइरहेका छौं । यसरी हामी लेखन संस्कृति र पठन संस्कृतिलाई अगाडि बढाएर नै कुनै पनि गाउँको टोलको सहरको समृद्धि हुन्छ भन्ने कुरा प्रतिबद्ध भएर निश्चिन्त भएर लागेका छौं ।