जेष्ठ नागरिकलाई भरणपोषणमा सहयोग पुर्‍याउने उद्देश्यबाट सरकारले २०५१ सालदेखि बृद्धभत्ता प्रदान गर्दै आएको छ । त्यसपछि क्रमशः सामाजिक भत्ताका रुपमा अपाङ्गता भएका, एकल महिला, सिमान्तकृत समुदाय लगायतलाई पनि राज्यका तर्फबाट मासिक भत्ता वितरण हुँदै आएका छन् । अर्बौं रकम यस्तो सामाजिक सुरक्षा भत्ताका रुपमा वितरण हुँदै आएको छ । आर्थिक अवस्था कमजोर भएका परिवारमा यो सहयोगले ठूलो योगदान गरेको छ । त्यति मात्र होइन बृद्धबृद्धाहरुलाई परिवारले गर्ने व्यवहारमा समेत परिवर्तन हुँदै गएको छ । राज्यबाट पाउने सुविधा हुनेखाने परिवारका सदस्यले समेत लिने गरेका छन् । तर पारिवारिक रुपमा सहयोग पुग्ने यस्तो पवित्र कार्यमा समेत छलछाम हुने गरेका छन् ।

मानिसको मृत्यु भएपछि पनि निरन्तर भत्ता निकासा गरी दुरुपयोग गरेका धेरै घटनाहरु सार्वजनिक भएका छन् । मृतकको नाम भत्ताको सूचीबाट नहटाई लामो समयसम्म रकम लिने काम कर्मचारीहरुबाट हुँदै आएका हुन् । राज्यको रकमको दुरुपयोग गरेको आरोपमा धेरै कर्मचारीले सजाय समेत भोगेका छन् । पुरानो लेखा प्रणालीले गर्दा दुर्नियत राख्नेहरुलाई निकै सहज अवस्था थियो । कर्मचारीहरुकै भरमा लामो समय स्थानीय निकाय सञ्चालन हुँदा यस्ता अबैध काम धेरै भएका हुन् । स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि बैंकबाट मात्र भत्ता वितरण गर्ने प्रणालीको विकास भयो । तब मात्र यस्ता कर्महरु केही कम भएका थिए तर नियत नै खराब भएपछि जनप्रतिनिधि समेत कर्मचारीहरुकै प्रवृत्तिमा लाग्ने थालेका घटना सार्वजनिक हुन थालेका छन् ।

मकवानपुरको मनहरी गाउँपालिकाका एक ज्येष्ठ नागरिकलाई तीनवटा वडाबाट सामाजिक सुरक्षाभत्ता भुक्तानी भएको पाइएको छ । यो घटनामा कुनै एक कर्मचारी मात्र नभई जनप्रतिनिधिको पनि संलग्नताको आशंका गर्ने गरी समाचारहरु आए । यस घटनामा लाभग्राही स्वयम्को पनि ईमान्दारितामा प्रश्न उठाइएको छ । तीन वटा वडामा उहाँको नाम कसरी प्रविष्ट भयो ? किन हटाईएन ? वडा अध्यक्षकै आमाको नाम तीन ठाउँमा समावेश हुनु र रकम निकासा गर्नुले गाउँपालिकाकै नेतृत्व माथि गम्भीर प्रश्न उठाउने गरी चर्चा भयो । तर, यस घटनामा जनप्रतिनिधि र कर्मचारीहरुले प्राविधिक समस्याका कारण दुई किस्ता सेवाग्राहीको खातामा गए पनि दोस्रो पटकको रकम रोक्का गरिएको र पहिलो पटकको पैसा फिर्ता गरेको बुझिएको छ । यो विषयको हल्ला अहिले भएर चर्चा भए पनि यो समस्या गत आर्थिक वर्षको सुरुवातको समयकै हो ।

तीन वटै वडाबाट एउटै व्यक्तिको खातामा दोस्रो पटक सामाजिक सुरक्षाभत्ता भुक्तानी भएको पाइएपछि बैंकले खबर गरेर रकम निकासा रोकिएको हो । यो विषय वडा अध्यक्षकै आमाको नाममा तीनवटा वडाबाट रकम भुक्तानी भएको भन्ने अर्थमा पनि बढी चर्चा भएको छ । वडा अध्यक्षहरु राजनीतिक व्यक्तित्व भएका कारण फरक राजनीतिक आस्थाका नेता, कार्यकर्ताहरुले विषयलाई चर्चामा ल्याउने प्रवृत्तिबाट पनि यो घटना प्रभावित बनेको हो । मकवानपुरको मनहरीको यो घटनामा भएको प्राविधिक गडबडीलाई लिएर सार्वजनिक रुपमा प्रश्न उठेपछि पालिकाले मंगलबार नै वडा अध्यक्ष र लेखाअधिकृत सम्मिलित छानविन समिति गठन गरेको छ । आर्थिक अनियमितताका यस्ता घटनाहरु भइरहने हुँदा बढी आलोचना हुनु स्वभाविक नै हो । तर, स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले भुक्तानीमा हुने यस किसिमको प्राविधिक त्रुटी नहोस् भनी पर्याप्त सतर्कता अपनाउनु जरुरी छ । अन्यथा यस किसिमका कमजोरी सुशासनका लागि चुनौतिको विषय बन्नेछ ।