हेटौंडाः नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोईरालाको १०७ औं जन्मजयन्तीका दिन आज नेपाली कांग्रेस मकवानपुर र विपी विचार समाज मकवानपुरले संयुक्त रुपमा हेटौंडा–१, चौकीटोलमा रहेको ओम वृद्धाश्रमलाई नगद सहयोग गरेको छ ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत रहनुभएका कोइरालाको जन्मजयन्तीको दिन नेपाली कांग्रेस मकवानपुरले २० हजार रुपैयाँ र विपी विचार समाज मकवानपुरले पाँच हजार पाँच सय ५५ रुपैयाँ गरी कुल २५ हजार पाँच सय ५५ रुपैयाँ हस्तान्तरण गरिएको छ । आज बिहान नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले ओम वृद्धाश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई सहयोग रकम हस्तान्तरण गर्नुभयो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा कांग्रेस मकवानपुरका नेताहरुको पनि उपस्थिति रहेको थियो ।