स्ववियु अध्यक्ष निर्वाचित श्यामराज भट्ट ।

हेटौँडा : हेटौँडा–१० स्थित वन विज्ञान क्याम्पसको स्ववियु अध्यक्षमा श्यामराज भट्ट निर्वाचित हुनुभएको छ । मंगलबार सम्पन्न मतदान तथा राती सम्पन्न मतगणनाअनुसार नेविसंघका भट्ट २४६ मतसहित अध्यक्ष निर्वाचित हुनुभएको हो । वन विज्ञान क्याम्पसमा नेविसंघले लगातार तेस्रो पटक अध्यक्ष जितेको हो ।

वन विज्ञान क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच सहकार्य भएको हो । अध्यक्षका अर्का आकांक्षी अनेरास्ववियु (क्रान्तिकारी) का छत्र शाहीले ११८ मत प्राप्त गरी पराजित हुनुभयो । सचिवमा अनेरास्ववियुका सुगम भुषाल क्षेत्री २६७ मतसहित विजयी हुँदा अर्का प्रतिस्पर्धी रमेश सिंह बोहराले १०१ मत प्राप्त गरी पराजित हुनुभयो । कोषाध्यक्षमा नेविसंघकी पूर्णिमा पन्त १६७ मतसहित विजयी हुँदा अर्का आकांक्षी क्रान्तिकारीकी निरुता श्रेष्ठ १०२ मतसहित पराजित हुनुभयो । सदस्यमा युनिशा धामी, रोहन केसी, विनय तिमल्सिना, किरणकुमार रावल र जष्टिना श्रेष्ठ विजयी हुनुभयो ।