हेटौंडाः हेटौंडा–५ सानोपोखरामा खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबले सञ्चालनमा ल्याएको फुड बैंकले एक व्यक्ति एक दिन सहयोग कार्यक्रमको अवधारणा आत्मसात गरेको छ । बिहीबारबाट सुरु भएको उक्त कार्यक्रममा एक जना सहयोगीले एक दिन खाद्यान्न लगायत अन्य सामग्री क्लबलाई हस्तान्तरण गरेर वितरण गर्नेछ ।

आज मकवानपुर फुटबल संघका पूर्व उपाध्यक्ष एवम् एफसी ईन्टरनेट क्लबका अध्यक्ष मनिष श्रेष्ठको तर्फबाट राजेन्द्र श्रेष्ठले क्लबलाई खाद्यान्न हस्तान्तरण गर्नुभएको क्लबका सल्लाहकार विशालराज महतले जानकारी गराउनुभयो । यस्तै भोलि नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीले क्लबलाई सहयोग गर्ने भएको महतले बताउनुभयो । यसअघि एक व्यक्ति एक दिन सहयोग कार्यक्रम अन्तर्गत २ जनाले सहयोग गरिसकेका छन् ।

खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबले सञ्चालनमा ल्याएको फुड बैंकबाट आज ३० परिवारले खाद्यान्न लिएर गएका छन् । फुड बैंकबाट शनिबार २५ परिवारलाई खाद्यान्न वितरण गरिएको थियो । शनिबार गोमा फार्मेसीका प्रोप्राईटर अमित आचार्य र अनिष सुवेदीले खाद्यान्न सहयोग गर्नुभएको थियो ।