जिल्ला कृषि सहकारी संघ मकवानपुरद्वारा सञ्चालित किसानको बजार ‘एग्रो मार्ट’ मा तरकारी खरिद गर्न भौतिक दूरी कायम गरी बसेका उपभोक्ता । फाइल तस्वीर ।

हेटौंडाः जिल्ला कृषि सहकारी संघ मकवानपुरद्वारा सञ्चालित किसानको बजार ‘एग्रो मार्ट’ पुनः सञ्चालनमा आएको छ । किसानलाई उचित मूल्य दिने र उपभोक्तालाई पनि उपयुक्त मूल्यमा कृषिउपज विक्री गर्ने उद्देश्यले सञ्चालित एग्रो मार्ट भदौ १४ गतेदेखि पुनः सञ्चालनमा आएको हो । जिल्लाका विभिन्न स्थानबाट एग्रो मार्टमा दैनिक २ सय ५० देखि ३ सय किलो तरकारी विक्री भइरहेको छ । मार्टमा शनिबार ३ सय किलो तरकारी विक्रि भएको जिल्ला कृषि सहकारी संघ मकवानपुरका व्यवस्थापक नरेश आचार्यले जानकारी दिनुभयो ।

मार्टमा बजार मूल्यको तुलनामा सस्तो र ताजा तरकारी विक्री भइरहेको छ । मार्टमा शनिबार गोलभेडा प्रतिकिलो १ सय रुपैयाँमा विक्रि गरिएको छ । करेला प्रतिकिलो ५० रुपैयाँ, कैंडा फर्सी प्रतिकेजी ३० रुपैयाँ, फर्सीको मुन्टा र रोयोको साग प्रतिमुठा ३० रुपैयाँ, भिन्डी प्रतिकिलो ४५ रुपैयाँ, स्कुस प्रतिकिलो ३० रुपैयाँ, बन्दा ४५ रुपैयाँ र नयाँ रातो आलु प्रतिकिलो ७५ रुपैयाँमा विक्री गरिएको छ । एग्रो मार्टमा शनिबार कैंडा फर्सी ७० किलो, स्कुस ४१ किलो, गोलभेँडा ५६ किलो, करेला ३२ किलो, भ्यान्टा ३२ किलो, भिन्डी २९ किलो र रायो साग र फर्सीको साग ७० मुठा विक्रि भएको छ ।

मार्ट लकडाउन सुरु भएसँगै बन्द भएर बीचको केहि समय तरकारी विक्रिका लागि खोलिएको थियो । साउन २५ गते पुनः बन्द भएको मार्ट भदौ १४ गते बाट खुलेको हो । जिल्ला कृषि सहकारी संघ मकवानपुरले मार्टबाट किसानको उत्पादन विक्री गरेर नाफा भएको रकम यसअघि कृषि सहकारीमा आवद्ध सदस्यहरुलाई बिना व्याज ६ महिनाका लागि ऋण दिएको थियो । अब हुने नाफा रकमबाट किसानहरुलाई नै बीउ वितरण गरिने योजना रहेको जिल्ला कृषि सहकारी संघ मकवानपुरका व्यवस्थापक नरेश आचार्यले जानकारी दिनुभयो ।

मार्टमा खाद्यान्न, दलहन बाली, तरकारी र विभिन्न स्थानीय उत्पादनहरुको विक्री हुँदै आएको छ । बजारको पहुँच नभएका किसानहरुलाई कृषि सहकारी संघले बजार उपलब्ध गराएको हो । एग्रो मार्टमा भीमफेदी गाउँपालिकाको भैंसे, मकवानपुरगढी गाउँपालिकाको मक्रान्चुली र थाहा नगरपालिकाको बज्रबाराहीबाट तरकारी आउने गरेको छ । जिल्ला कृषि सहकारी संघद्वारा सञ्चालित एग्रो मार्टमा दुध पनि विक्री गरिरहेको छ । मार्टमा अन्य बस्तु भन्दा तोरीको तेल धेरै विक्रि हुने गरेको व्यवस्थापक आचार्यले बताउनुभयो । भौतिक दूरी र स्वास्थ्य सतर्कता अपनाएर मार्टले खाद्यान्न तथा तरकारीको कारोबार गरिरहेको व्यवस्थापक आचार्यले बताउनुभयो ।