हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिका बाहेक अन्य ९ वटा पालिकामा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ । जिल्लाको थाहा नगरपालिका, कैलाश, बकैया र ईन्द्रसरोवर सङ्क्रमित शून्य अवस्थामा छ भने थाहा नगर, मकवानपुरगढी, भीमफेदी, राक्सिराङ र मनहरी गाउँपालिकामा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ ।
सङ्क्रमित शून्य भए पनि मकवानपुरको थाहा नगरपलिकामा तरकारी, खाद्यान्न सामग्री लगायतका वस्तुहरु ढुवानी काठमाडौं, हेटौडा लगायतका ठाउँहरुमा हुने भएकोले सवारी चालक र सह–चालक मार्फत कोरोना भित्रन सक्ने भन्दै थाहा नगरपलिकाले आफ्नो सबै वडाहरुमा सचेतना अपनाएको छ । सङक्रमण अहिले नभएपनि उच्च स्वास्थ्य सुरक्षा अपनाइएको थाहा नगरका स्वास्थ्य संयोजक मेघराज बलामीले बताउनुभयो । थाहा नगरमा अहिले कोरोनाको सङ्क्रमण दर कम हुँदै गएको पनि उहाँले बताउनुभयो ।
मकवानपुरगढी गाउँपालिकाले कोरोना सङ्क्रमितहरुको सम्पर्कमा आएकाहरुको पहिचान गरी हालसम्म एक सय स्वाबको नमूना सङ्कलन गरेको छ । गाउँपालिकामा हाल ३ जना कोरोना सङ्क्रमितहरु घरकै आइसोलेसनमा बसेको मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य संयोजक विदुर लामिछानेले बताउनुभयो ।
त्यसैगरी मकवानपुरगढी वडा नम्बर ३ मा ४ बेडको आइसोलेसन वार्ड बनाउने तयारीसमेत भएको लामिछानेले जानकारी गराउनुभयो । उहाँका अनुसार अहिले गाउँपालिकामा कोरोनाको सङ्क्रमण दर घटेको छ । सङ्क्रमितको पहिचान गरेर सम्पर्कमा आएकाहरुको कोरोना परीक्षण गरिसकेकोले अहिले सङ्क्रमण दर न्यून रहेको उहाँले बताउनुभयो ।
त्यसैगरी मकवानपुरको पुर्वीक्षेत्र बकैया गाउँपालिकाका ४ जनाले कोरोनालाई जितेका छन् । बकैया गाउँपालिकाको वडा नम्बर ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा र वडा नम्बर ५ स्थित सामुदायिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन वार्ड बनाइएको बकैया गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख फटिकरमण प्याकुरेलले बताउनु भयो । उहाँका अनुसार अहिले गाउँपालिकामा कोरोनाको सङ्क्रमण शुन्य रहेको छ । सङ्क्रमितहरुको सम्पर्कमा भएकाहरु सबैको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको तथा अहिले सङ्क्रमण नरहेको उहाँले जानकारी दिनुभयो ।
मकवानपुरको भीमफेदी गाउँपालिकाले पनि विभिन्न वडाहरुमा सङ्क्रमितहरुको सम्पर्कमा आएकाहरुको पहिचान गरेर हालसम्म ९३ जनाको स्वाब सङ्कलन गरेको छ । भीमफेदी गाउँपालिकाले हालसम्म १७५ जनाको आरडिटी परिक्षण गरेको र वैदेशिक रोजगारमा गएर फर्किएका ७० जना व्यक्तिहरुलाई क्वारेन्टिनमा व्यवस्थापन गरेको भीमफेदी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामनाम थिङले जानकारी गराउनुभयो । भीमफेदी गाउँपालिकामा हालसम्म १५ जनामा कोरोना पुष्टि भएकोमा ११ जना निको भएका छन् । यस्तै ४ जना हेटौंडा–६, गौरीटारस्थित आइसोलेसन वार्डमा बसेका छन् ।
अहिले गाउँपालिकामा अन्य स्थानबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने तथा कोरोना परीक्षण गरेर मात्र घर जान दिने भएकोले गाउँपालिका सुरक्षित रहेको उहाँले बताउनुभयो । यस्तै बजार व्यवस्थापन पनि गर्दै भीडभाड हुन नदिने भएको छ । आंंिशक रुपमा मात्रै बजार खुल्ला गरेको छ । यस्तै अहिले कोरोना सङ्क्रमितहरुको सम्पर्कमा आएकाहरुको पनि कोरोना परीक्षण गर्दा नेगेटिभ आएपछि गाउँपालिकामा विस्तार सङ्क्रमणको दर घट्दो रहेको स्वास्थ्य प्रमुख थिङले बताउनुभयो ।
मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले हालसम्म एक सय स्वाबको नमूना सङ्कलन गरेको छ । गाउँपालिकाले विभिन्न वडाहरुमा हप्ताको २ दिन सोमबार र शुक्रबार स्वाब सङ्कलन गर्ने गरेको राक्सिराङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विजय कपारीले जानकारी गराउनुभयो । राक्सिराङ गाउँपालिकमा हालसम्म ३ जनामा कोरोना पुष्टि भएकोमा २ जना सङ्क्रमणमुक्त भएका छन् । १ जना सङ्क्रमित मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीस्थित आइसोलेसनमा उपचाररत रहेको कपारीले बताउनुभयो । गाउँपालिकामा पनि सङ्क्रमणको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।
त्यस्तै मनहरी गाउँपलिकामा २३ जना कोरोना पुष्टि भएकोमा सबै कोरोना सङ्क्रमणमुक्त भएका छन् भने २० जनाको स्वाब सङ्कलन गरी कोरोना परीक्षणका लागि हेटौंडा–१०, स्थित प्रादेशिक प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको मनहरी गाउँपालिका सिनियर अहेव ज्योति राज लुइटेलले बताउनु भयो ।