गणतन्त्र स्थापित हुनुअघि तत्कालिन राजा वीरेन्द्र शाहको नामबाट सञ्चालित विद्यालयस्तरीय खेलकुद कार्यक्रम हो आजको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता । विद्यालय तह नै मुलुकको समग्र विकासको आधार तह मानेर विद्यालयस्तरीय खेलकुद प्रतियोगिता खेलकुदको विकासका लागि आयोजना गर्न सुरु गरिएको हो । राजाको पालामा सुरुवात भए पनि खेलकुदको नियमित कार्यक्रमभित्र परेको विद्यालय खेलकुदलाई गणतन्त्र प्राप्तिपछि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भनियो । नियमित काम गर्नु भनेको पितृको श्राद्ध गरेजस्तै हो भन्ने बुझाई प्रेरित भएर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पालिका, जिल्ला, प्रदेश र राष्ट्रियस्तरमै आयोजना भइरहेको छ ।

हालै मकवानपुर जिल्लास्तरीय प्रतियोगिता बिहिबार सम्पन्न भयो । गणतन्त्र स्थापनापछिको १६औं संस्करणसम्म आइपुग्दा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता श्राद्ध गरेजस्तो मात्रै छ । हेटौँडाको हुप्रचौरमा सोमबार सुरु भएको प्रतियोगितामा मकवानपुरको राक्सिराङ गाउँपालिका सहभागी नै भएन । १० मध्ये ९ पालिकाको सहभागिता रहेको प्रतियोगिताको व्यवस्थापन खासै केही थिएन । प्रतियोगितामा खेलाडीको सहभागितामा उत्साह थिएन । प्रतियोगितामा समावेश गरिएका खेलहरुमा पालिकास्तरबाट आआफ्नो अनुकुल र सहजताका खेलमा मात्रै सहभागिता जनाइएको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिताका लागि प्राथमिक चरणमा विद्यालयहरुले खासै तयारी गरेको देखिन्न । विद्यालयमा खेलकुदका कार्यक्रमहरु खासै हुन्नन् । खेलकुदको अभ्यास र खेलकुद प्रतियोगिताका लागि विद्यालयसँग स्रोत, साधन, जनशक्ति छैन ।

विद्यालय तहमै अभ्यास र अनुभव नभएपछि पालिकास्तरीय प्रतियोगिता स्वतः प्रतिस्पर्धी र गुणात्मक हुन्न । खेलकुदका गतिविधिले विद्यार्थीको शारीरिक, मानसिक स्वास्थ्य राम्रो हुनुका साथै अध्ययन, अध्यापनको वातावरणमा सहयोगी हुने, प्रतिस्पर्धी भावनाको विकास भई आफ्नो दक्षता, सीप र ज्ञान बढाउन प्रेरित हुने उेद्दश्यअनुरुप काम हुन सकेको छैन । खेलकुदमा लाग्दा आफ्ना बालबालिका बिग्रन्छन् भन्ने अभिभावकमा स्थापित सोँचमा परिवर्तन हुन सकेको छैन । विद्यालय, पालिका हुँदै जिल्लास्तरीय सहभागिता नै विद्यालयका लागि चुनौतिको विषय हुन्छ । मकवानपुर जिल्लास्तरीय छनोट प्रतियोगितामा सहभागिताका लागि अन्य ९ वटा पालिकाका लागि हेटौँडासम्म आउजाउ गर्ने, प्रतियोगिता अवधिभर हेटौँडामा खाने–बस्ने व्यवस्थापनका लागि बजेट र सुरक्षा चुनौतिको रुपमा रहन्छ ।

प्रतियोगिता भनेपछि आवश्यक तयारी, उत्साहजनक सहभागिताका लागि आवश्यक स्रोत, साधनमा आधारित भएर उचित व्यवस्थापनको अभाव प्रमुख समस्या हो । विद्यालयस्तरीय प्रतियोगितामा राम्रो प्रदर्शन गरेका खेलाडीलाई खेल क्षेत्रमै भविष्य निर्माण गर्ने गरी आवश्यक तयारी पनि केही नहुनु अर्को बिडम्बना हो । यसर्थ विद्यालयदेखि पालिका, जिल्ला, प्रदेश र राष्ट्रियस्तरसम्म नै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजनाका लागि जिम्मेवार निकाय र ती निकायमा जिम्मेवारीमा रहेका व्यक्तिहरुले आवश्यक ध्यान दिनु जरुरी छ । मकवानपुर जिल्लाका १० पालिकामध्ये खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बागमती गाउँपालिकाले यस वर्षको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जितेकोमा बधाई दिँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा पनि मकवानपुरको प्रतिनिधित्व सशक्त रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं ।