
हेटौँडा : चेपाङ बाहुल्य क्षेत्रका वडाहरु समेटेर झारालाङ र रोराङ गाउँपालिका बनाउन माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाइएको छ । चेपाङ समुदायको पहिचान संरक्षण हुनेगरी धादिङ र चितवनका क्षेत्रहरुलाई समेटर २ स्थानीय तह पुनर्संरचना गर्नुपर्ने मागसहित नेपाल चेपाङ संघ केन्द्रीय कार्यकारिणी समितिले मुख्यमन्त्री बानियाँलाई बुधबार ज्ञापनपत्र बुझाएको हो ।
हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा संघका प्रतिनिधिहरुले चेपाङ बसोबास रहेका क्षेत्रलाई समेटेर झारालाङ र रोराङ गाउँपालिका बनाउन माग गरेका हुन् । उनीहरुले चेपाङ भाषाको संरक्षणमा समेत सहयोग पुग्ने भएकाले झारालाङ र रोराङ गाउँपालिका नामाकरण गरेर सोही अनुसार पुनर्संरचना गर्न माग गरेका हुन् । संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङ, महासचिव सन्तबहादुर चेपाङसहितको टोलीले मुख्यमन्त्री बानियाँलाई ज्ञापन पत्रमार्फत चेपाङ बाहुल्य रहेको चितवन, धादिङ र मकवानपुर जिल्लाका वडाहरु समेटेर छुट्टै स्थानीय तह गठन गर्न प्रस्ताव गरेका हुन् । प्रस्तावअनुसार चितवनको इच्छाकामना गाउँपालिकाको वडा नम्बर–१ र २, कालिका नगरपालिकाका वडा नम्बर–१० र ११ तथा राप्ती नगरपालिकाका वडा नम्बर १०, ११, १२ र १३ लाई समेटेर झोरालाङ गाउँपालिका बनाउन माग गरिएको छ ।
त्यस्तै, धादिङको बेनीघाट रोराङ गाउँपालिका–१, २, ६, ८, ९ र १० तथा गजुरी गाउँपालिकाका वडा नम्बर ३ र ४ लाई समेटेर रोराङ गाउँपालिका बनाउन संघले आग्रह गरेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका अन्य गाउँपालिका वा नगरपालिकामा गाभिने अवस्था आएमा हालको चेपाङ भाषामा रहेको नाम यथावत राख्नुपर्ने माग पनि गरिएको छ । यसका साथै नेपालको संविधान २०७२ को धारा ५६ को उपधारा (५) बमोजिम चेपाङ समुदायको आर्थिक, सामाजिक तथा साँस्कृतिक संरक्षणका लागि चितवन, मकवानपुर, धादिङ र गोरखा जिल्लाका चेपाङ बाहुल्य क्षेत्रमा चेपाङ संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले चेपाङ समुदायको विशेष पर्वका अवसरमा सार्वजनिक बिदा दिँदै आएको स्मरण गराउँदै स्थानीय तहसँग समन्वय गरेर समुदायको हितमा प्रदेश सरकारले आवश्यक काम गर्ने बताए । २०७८ सालको जनगणनाअनुसार नेपालमा चेपाङ समुदायको कुल जनसंख्या ८४ हजार ३ सय ६४ रहेको छ । यसमध्ये करिब ८० प्रतिशत बागमती प्रदेशमा बसोबास गर्छन् । मकवानपुर जिल्लामा १९ हजार २३३ जना चेपाङको बसोबास रहेको तथ्यांक छ ।










