हेटौँडा : मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा मंगलबार प्रतिनिधि सभा सदस्य प्रकाश गौतमसँग मकवानपुरका व्यवसायीले छलफल गरेका छन् । संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षतामा कार्यक्रम भएको हो ।
छलफलमा संघका अध्यक्ष रानाभाटले विक्री मूल्य अनिवार्य गर्नुपूर्व व्यवसायीलाई पर्याप्त समयसीमा र सचेतना कार्यक्रम चलाउनुपर्ने, वीरगंज जानुपर्ने बाध्यता हटाउन हेटौंडामा नापतौल कार्यालय स्थापना गर्नुपर्ने, भारतीय पर्यटकहरुलाई थप आकर्षित गर्न पूर्वाधार विकासमा लगानी बढाउनु पर्ने, भीडभाड भइरहने हेटौंडा अस्पतालमा गएर नजिकै रहेको हेटौंडा आँखा अस्पतालका लागि रिफर लिनुपर्ने बाध्यता हटाउनुपर्ने, क्रसर उद्योगलाई पुनः संचालनमा ल्याउन नियमन गर्नुपर्ने, विस्तारित मयुरधाप औद्योगिक क्षेत्र सिघ्र संचालनमा ल्याउनुपर्ने, सडक विस्तारको अन्यौलता हटाउनुपर्ने जस्ता धारणा राख्नुभएको थियो ।
कार्यक्रममा सुनचाँदी धर्म र संस्कारसँग जोडिएकोले विलासिता कर हटाउनुपर्ने, घरव्यवहार चलाउन पूराना गहनाको बिल नहुँदा समस्या पर्ने देखिएकोले कर कार्यालय, वडा वा प्रहरीबाट प्रमाणित गराई बिक्री गर्न मिल्ने व्यवस्था आवश्यक रहेको, कृषि उत्पादनको बजारीकरणका लागि राज्यले साथ दिनुपर्ने, कृषि उपजको सहज आयात, निर्यात तथा ढुवानीको वातावरण बनाउनुपर्ने, जमिन बाँझो राख्न नहुने नीति बनाउन पर्ने, हाल केरामा भइरहेको तस्करी नियन्त्रण गर्नुपर्ने, किसान, व्यवसायी र सरकारको सहकार्यमा कृषि सम्बन्धी नीति बनाउनुपर्ने, हेटौंडा बजारमा सिसिटिभीको प्रभावकारी व्यवस्था हुनुपर्ने, विस्तारित मयुरधाप औद्योगिक क्षेत्रलाई बफर जोन क्षेत्रबाट अलग्याउनुपर्ने, हेटौंडा सिमेन्ट उद्योग बन्द भइरहने अवस्थाको अन्त्य गर्दै निरन्तर संचालन र फाष्टाउने स्थितिमा पु¥याउनुपर्ने, हेटौँडा कपडा उद्योग संचालन हुँदा हजारौले रोजगारी पाउने र राज्यलाई आम्दानी हुने जस्ता विषयहरुमा चर्चा गरिएको थियो ।
प्रतिनिधि सभा सदस्य प्रकाश गौतमले हेटौंडा सिमेन्टको निरन्तर संचालन र हेटौंडा अस्पताल स्तरोन्नतिका लागि आफू परिणाम दिनेगरी खटिरहेको, हेटौंडामा सिसिक्यामेरा जडानको लागि गृह मन्त्रालयसँग बजेटको लागि पहल भइरहेको, औद्योगिक क्षेत्रलाई व्यवस्थित संचालनको लागि संसदमा आफ्नो धारणा राख्ने समय लिएको, सडक विस्तारको विषयमा समाधान निकाल्न छलफल गरिरहेको, सबैको साथ लिएर काम गर्न चाहेको बताउनुभएको थियो ।
कार्यक्रममा मउवासंघका महासचिव प्रतिमा श्रेष्ठ, मकवानपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोपिलाल विक, मकवानपुर फलफुल तथा तरकारी व्यापारी संघका अध्यक्ष कृष्ण हुमागाई, मोबाइल एशोसिएसनका अध्यक्ष सागर न्यौपाने, मउवासंघ उपाध्यक्ष उज्वल चौलागाई, पूर्वअध्यक्ष अरुणराज सुमार्गी, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका सदस्य उत्तम शर्मा ढकाल र वरिष्ठ उपाध्यक्ष दिपक उप्रेतीले मन्तव्य राख्नुभएको थियो ।











