हेटौँडा : राक्सिराङ गाउँपालिका–३ स्थित सूर्योदय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को प्रधानाध्यापकमा लिला तितुङ नियुक्त हुनुभएको छ । यसअघिका प्रधानाध्यापक सीताराम सुवेदीले जिम्मेवारी छाड्नु भएपछि तितुङलाई प्रधानाध्यापकमा नियुक्त गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम वाइबाले जानकारी दिनुभयो ।
सुवेदीले ४ वर्ष प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभयो । नवनियुक्त प्रधानाध्यापक तितुङ पछिल्लो डेढ वर्षदेखि विद्यालयमा कार्यरत हुनुहुन्छ । निमावि अंग्रेजी विषय शिक्षकको रुपमा कार्यरत तितुङ विद्यालयका सहकर्मी शिक्षक, व्यवस्थापन समिति, अभिभावक, सरोकारवालाको प्रस्तावमा प्रधानाध्यापक बन्नुभएको हो । राक्सिराङ गाउँपालिका–४ की स्थायीवासी तितुङ १५ वर्षदेखि शिक्षण पेशामा आवद्ध हुनु भए पनि शिक्षक सेवा आयोगले २०७९ सालमा लिएको परीक्षामा उत्तीर्ण भई स्थायी शिक्षकको रुपमा नियुक्ति पाउनुभएको हो ।
नवनियुक्त प्रधानाध्यापक तितुङले विद्यालयको समग्र विकासका लागि आवश्यक काम गर्न आर्थिक स्रोतको अभाव प्रमुख समस्याको रुपमा रहेको बताउनुभयो । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ६ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयको समग्र विकासका लागि आवश्यक स्रोत सुनिश्चित गर्न गत शनिबार सर्वपक्षीय भेला समेत गरिएको प्रधानाध्यापक तितुङले स्पष्ट पार्नुभयो । केही महिनाअघि मात्रै पूर्वविद्यार्थीहरु संगठित भएको र पूर्वविद्यार्थीबाट पनि विद्यालयको समग्र विकासमा आवश्यक साथ, सहयोग लिइने उहाँको भनाइ छ ।
राक्सिराङ गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयमध्ये ३ वटा विद्यालयमा महिला प्रधानाध्यापक भएका छन् । यसअघि राक्सिराङ गाउँपालिका–५, चैनपुरस्थित प्रजा जागृति माध्यमिक विद्यालयमा शर्मिला पौडेल र राक्सिराङ गाउँपालिका–६, सिलिङ्गेस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा लालमाया प्रजा प्रधानाध्यापक हुनुहुन्छ ।











