जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवप्रसाद सञ्जेल ।

नानीमाया सापकोटा
हेटौँडा : हेटौँडा उपमहानगर क्षेत्रको केन्द्रमा रहेका विद्यालयहरुमा विद्यार्थीहरुको भिड बढ्दै जाँदा हेटौँडा–१५, रातोमाटेस्थित जनजागृति माध्यमिक विद्यालय (प्राविधिक शिक्षलय) मा भने विद्यार्थी टिकाउन सकस भइरहेको छ । २०६७ सालमा विद्यालयमा ७ सयको हाराहारीमा अध्ययन गर्ने विद्यार्थी घटेर साधारणतर्फ २ सय ६४ जना र प्राविधिकतर्फ ७५ जना गरी २०८२ सालमा ३ सय ३९ मा सीमित हुन पुगेको छ ।

केही वर्षसम्म वडामा कच्ची बाटोहरु रहँदा बाध्यताले सोही विद्यालयमै आफ्ना बालबालिका पठाउने अभिभावकहरुले अहिले आफ्नै घरअगाडि निजी (संस्थागत) विद्यालयका बस चल्न थालेपछि आफ्ना छोराछोरी त्यतै पठाउँदा विद्यालयमा निरन्तर विद्यार्थी संख्या घट्दै गइरहेको प्रधानाध्यापक केशवप्रसाद सञ्जेलले बताउनुभयो । विद्यार्थी संख्या घटेसँगै गतवर्ष विद्यालयको एक प्राथमिक स्थायी दरबन्दीसमेत कटौती हुन पुग्यो । यस विद्यालयमा विद्यार्थी संख्यामात्र घटेको छैन, विद्यार्थीहरुको उत्तीर्ण हुने दर पनि न्यून हुँदै गएको छ ।

विद्यालयको ४ वर्षअघि ४८ प्रतिशतमात्र रहेको विद्यालयको सिकाइ उपलब्धि यस वर्ष ६८ प्रतिशतसम्म पुगेकोमा भने विद्यालय खुसी छ । हाल विद्यालयमा ३ जना प्राविधिकतर्फका समेत २१ जना शिक्षकहरु कार्यरत छन् । यसअघि ७ सय विद्यार्थी हुँदा विद्यालयमा २२ कक्षाकोठामा पठनपाठन सञ्चालन भए पनि अहिले आधाजसो कक्षाकोठा खाली नै रहेको विद्यालयले जनाएको छ । पहिले माध्यमिक तहका कक्षाहरुमा प्रत्येकमा दुईवटा सेक्सन हुन्थे तर हाल एउटा कक्षा एक कोठामै सीमित छ ।

यस विद्यालयले झेल्दै आइरहेको अर्को चुनौती ध्वनि प्रदूषण पनि हो । पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा जोडिएको कारण विद्यालयमा सडकमा चल्ने सवारी साधनको चर्को स्वर पढाइरहेको कक्षाकोठासम्म पुग्छ । यो समस्या समाधानका लागि विद्यालय व्यवस्थापन समितिले विद्यालय अन्यत्र सार्ने निर्णय गरे पनि १५ नम्बर वडा कार्यालयले कुनै प्रक्रिया अघि बढाएको छैन । सडक डिभिजन कार्यालयले राजमार्ग फराकिलो पार्ने क्रममा विद्यालयको पर्खाल भत्काइदिएपछि विद्यार्थीहरुलाई संरक्षण गर्न जस्तापाताले अस्थायी घेराबार लगाइएको छ ।

यद्यपि गतवर्ष विद्यालयले केही थप कार्यक्रमहरु गरेपछि नतिजा भने सकारात्मक आएको प्रधानाध्यापक सञ्जेल बताउनुहुन्छ । करिब २५ वर्ष विद्यालयमा पठनपाठन गरिसक्नुभएका सञ्जेलले पछिल्लो १० वर्ष नतिजा र विद्यार्थी संख्या खस्कँदैमात्र गएको देख्नुभएको भए पनि अघिल्लो वर्षको नतिजाले भने उहाँलाई केही प्रेरणा जागेको छ । अघिल्ला वर्षहरुमा विद्यालयले एसईईमा ३० देखि ३५ प्रतिशत नतिजा प्राप्त गरिरहेकोमा अघिल्लो वर्ष विद्यार्थीहरुलाई बन्द शिविरमा राखेर निगरानी तथा पठनपाठन गराएपछि भने ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भए । अघिल्लो वर्षको नतिजाले उत्साहित विद्यालयले यस वर्ष पनि कक्षा १० का विद्यार्थीहरुलाई बन्द शिविरमै पठनपाठन सञ्चालन गर्‍यो । यसवर्ष ३१ जना विद्यार्थी एसईईमा सामेल भएकोमा ७० प्रतिशत अर्थात् २३ जना उत्तीर्ण हुने अपेक्षा विद्यालयले राखेको छ ।

अभिभावकहरु सचेत नहुँदा विद्यालयको अपेक्षाअनुरुप समन्वय गर्न नसकिएको प्रधानाध्यापक सञ्जेल गुनासो गर्नुहुन्छ । अभिभावकहरुको आफ्ना बालबालिकाको पढाइबारे कुनै चासो नराख्ने तर परीक्षामा नतिजा बिग्रियो भने गाली गर्न आइपुग्ने रबैयाले शिक्षकहरुलाई थप समस्यामा पारेको उहाँको भनाइ छ । अभिभावकहरु आफ्ना बालबालिकालाई पठनपाठनप्रति प्रेरणा दिनुपर्छ भन्नेमा नै अनविज्ञ देखिएको उहाँको बुझाइ छ ।

९८ प्रतिशतभन्दा बढी तामाङ बाहुल्य रहेको यस क्षेत्रका अभिभावकहरु बालबालिकालाई प्रतिस्पर्धात्मक वातावरणभन्दा संस्कृतिउन्मुख रमाइलोमा ढाल्ने गरेको उहाँको अनुभव छ । यस्तै विद्यालय व्यवस्थापन समितिमा पनि यस्तै अभिभावकहरु रहने हुँदा समितिमा शिक्षकहरुले नै समस्या समाधानका निम्ति योजना प्रस्तावहरु बनाउनुपर्ने बाध्यता रहेको सञ्जेलको भनाइ छ । व्यवस्थापन समिति सदस्य तथा अभिभावकलाई वडालगायतका संस्थाहरुले अभिभावकीय शिक्षा सञ्चालन गरेमा यो समस्या समाधान भएर जाने उहाँको अपेक्षा छ ।

साधारणतर्फ मात्र नभएर प्राविधिक धारतर्फ पनि स्थानीयको चासो कम भएको उहाँको अनुभव छ । हाल विद्यालयमा अटोमोबाइल इन्जिनियरिङ विषयमा सीटीईभीटी तथा औद्योगिक प्रशिक्षार्थी कार्यक्रम अन्तर्गत ७५ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा सीटीईभीटीको सम्बन्धनमा १८ महिने प्रि–डिप्लोमा कार्यक्रममा २४ कोटा रहेकोमा २० जना अध्ययनरत छन् । यस्तै, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय तथा स्विस सहयोग अन्तर्गत औद्योगिक प्रशिक्षार्थी कार्यक्रममा २० जनाको कोटामा पूर्ण संख्यामा अध्ययनरत छन् । तर सबै विद्यार्थीहरु तराईका सप्तरी, सिराहा, बर्दिया, महोत्तरी, धनुषालगायतका जिल्लाहरु तथा हेटौँडाका अन्य वडाहरुबाट मात्र गएका छन् । वडाभित्रकै स्थानीयबासीहरु भने प्राविधिक विषय अध्ययन गर्न रुचि देखाएका छैनन् ।

हाललाई एसईई दिने विद्यार्थीलाई बन्द शिविरमा राखेर परीक्षाको नतिजामा सुधार आए पनि प्रधानाध्यापक सञ्जेल सन्तुष्ट हुनुहुन्न । स्थानीय तहले विद्यालयका सबै समस्याहरु समाधान गर्न तयार हुनुपर्ने उहाँको विचार छ । विद्यालयको स्थानान्तरणसँगै अभिभावकहरुलाई शिक्षा तथा वडा कार्यालयबाट पर्याप्त आवश्यक बजेटको व्यवस्था गरी विद्यालय व्यवस्थापन समितिलाई प्रभावकारी बनाउन सके विद्यालयमा सुधार गर्न सकिने प्रधानाध्यापक सञ्जेलको सुझाव छ ।