हेटौँडा:आज वैशाखकृष्ण पक्ष औँसी अर्थात आमाको मुख हेर्ने दिन । आजको दिनमा आफूलाई जन्म दिने आमालाई सम्मान गरी मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
आजको दिनमा छोराछोरीले बिहानै उठेर नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाइदिने तथा मीठा र तागतिला खानेकुरा खुवाउने गर्दछन् । भक्तिभावसहित आमाको आशीर्वाद थाप्ने चलन रहेको छ । शास्त्रमा आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि ठुली मानिएको छ ।
आजको दिनलाई आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आशीश थाप्ने दिनका रूपमा लिइँदै आएको परम्परा छ । आजको दिन चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ ।