हेटौंडाः हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित विभिन्न उद्योगहरुमा बुधबार अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालसहितको टोलीले हाल सञ्चालनमा रहेका विभिन्न उद्योगहरुमा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना भए/नभएको विषयमा अनुगमन गर्नुभएको हो ।

बुधबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलाल, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, सशस्त्र प्रहरी बल १४ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक, उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवाललगायतले विभिन्न उद्योगको अनुगमन गर्नुभएको हो । कोभीड–१९ सङ्कट व्यवस्थापन केन्द्र (कमाण्ड पोष्ट)ले जिल्लामा निषेधाज्ञा केही खुकुलो पार्दै उद्योग सञ्चालनका लागि तयार पारेको मापदण्डको पालना भए/नभएको विषयमा टोलीले विभिन्न उद्योगहरुमा अनुगमन गरेको हो । टोलीले औद्योगिक क्षेत्रमा सञ्चालित भ्याली प्लेट दाना उद्योग, गोरखा लाहरी प्रालि, बर्जर पेन्टस्, र यती पोलिकेम प्रालिमा अनुगमन गरेको हो ।

कमाण्ड पोष्टले जिल्लामा उद्योग सञ्चालन गर्दा सम्भव भएसम्म उद्योग परिसरभित्रै कर्मचारी तथा श्रमिक राख्ने व्यवस्था मिलाउनु पर्ने, उद्योग परिसरमा राख्न सम्भव नभएमा बिहान ६ बजेभित्र उद्योगपरिसर भित्र प्रवेश गराउनु पर्ने र साँझ ६ बजेपश्चात मात्र उद्योग परिसरबाट बाहिर पठाउनु पर्ने तथा उनीहरुलाई सवारी साधनको प्रयोग गरेर घरबाट ल्याउने लाने व्यवस्था सम्बन्धित उद्योगले गर्नुपर्ने, कर्मचारी तथा कामदार घर फर्किसकेपश्चात समुदायमा घुलमिल नहुने व्यवस्था सम्बन्धित उद्योगले मिलाउने र सो कुराको उद्योग संघ मकवानपुर र मकवानपुर उद्योग वाणिज्य संघले आवश्यक निरीक्षण गर्ने र नियमित रुपमा कमाण्ड पोष्ठको बैठकमा प्रतिवेदन पेश गर्ने, बाहिरी जिल्लाबाट श्रमिक एवम् कर्मचारी ल्याउने कार्य पूर्ण रुपमा बन्द गर्ने र तोकिएको स्वास्थ्य एवम् सुरक्षाका मापदण्डहरू पालना नगरी उद्योग सञ्चालन गरेको पाइएमा तत्काल उद्योग बन्द गरी कारबाहीको दायरामा ल्याउने गरी मापदण्ड बनाएको छ ।

अनुगमन टोलीले उक्त मापदण्ड बमोजिम उद्योगहरू सञ्चालन भए नभएको विषयमा अनुगमन गरिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले जानकारी दिनुभयो । अनुगमनका क्रममा कतिपय उद्योगहरुले मापदण्डको पूर्ण पालना गरेको तथा कतिपय उद्योगमा मापदण्डको पालना भएको नपाइएको उहाँले बताउनुभयो । मापदण्ड पालना नगरिएको उद्योगहरुलाई मापदण्ड पालना गरेरमात्र उद्योग सञ्चालन गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । टोलीले मंगलबार मात्र ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बर्जर पेन्ट्समा त्यहाँको अवस्थाका बारेमा बुझ्नुका साथै अन्य उद्योगहरुमा श्रमिकहरुले काम गरेको स्थानमै पुगेर स्वास्थ्य मापदण्ड पालना गरे÷नगरेको अनुगमन गरेको थियो ।