हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोना सङ्क्रमण विरुद्धमा समुदाय सक्रिय हुन जरुरी रहेको बताउनुभएको छ । बुधबार हेटौंडा–१५ चुरीयामाईमा समुदायमा कोरोनाको प्रभाव, हालसम्म वडामा भएका प्रयास तथा अहिलेको अवस्थाका विषयमा जानकारी लिने क्रममा उहाँले कोरोना विरुद्ध समुदाय नै सक्रिय भएर लाग्नुपर्ने बताउनुभएको हो ।

प्रमुख खुलालले समुदायस्तरमा नै कोरोना सङ्क्रमण फैलिएकाले समुदाय नै सचेत र सक्रिय हुन जरुरी रहेको बताउनुभएको हो । समुदायलाई सचेत गराउन र यस विरुद्धमा प्रभावकारी काम गर्ने उद्देश्यका साथ वडास्तरमा वडाध्यक्षको नेतृत्वमा गठित समितिले यसमा विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो । वडाध्यक्षको नेतृत्वमा स्वास्थ्यकर्मी तथा सुरक्षा निकायको प्रतिनिधिसहितको उक्त समितिका बारेमा जानकारी दिँदै उहाँले राजनीतिक दलका स्थानीय प्रतिनिधि, टोल विकास संस्था, क्लब जस्ता संस्थालाई परिचालन गरेर कोरोना विरुद्ध काम गर्नुपर्ने बताउनुभयो । उक्त समितिले आफ्नो वडा भित्रका कोरोना सङ्क्रमितको विवरण राख्ने, आइसोलेसन तथा क्वारेन्टिनमा बस्नेको सिफारिस गर्ने, सचेतनामूलक कार्यक्रमहरु गर्ने, स्वास्थ्य मापदण्डको पालना भए/नभएको अनुगमन गर्ने जस्ता काम गर्न आग्रह गर्नुभयो ।

उहाँले कोरोना विरुद्ध हालसम्म अन्य कुनै औषधि तयार भइनसकेको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना र सचेतना नै अहिलेको विकल्प भएकाले सबैले स्वास्थ्य मापदण्डको परिपालना गर्नुपर्ने बताउनुभयो । सङ्क्रमित व्यक्ति र उसको परिवारप्रति कसैले पनि नकारात्मक सोँच नराख्न र नकारात्मक व्यवहार नगर्न समेत उहाँले आग्रह गर्नुभयो । यस्तै उहाँले सकेसम्म घर बाहिर ननिस्कन, निस्कनै परेमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, नियमित रुपमा साबुन पानीले हाल धुन, भौतिक दूरी कायम गर्न तथा समाजमा सकारात्मक सचेतना अभिवृद्धि गर्न सबैमा आग्रह गर्नुभएको छ । उहाँले वडास्तरमा गठित समिति सक्रिय भएर लाग्नुपर्ने र समितिलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ । सो क्रममा प्रमुख खुलालले कोरोना सङ्क्रमणका कारण मृत्यु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का सदस्य तथा तत्कालिन नेकपा एमाले चुरीयामाई गाउँ कमिटीका सचिवालय सदस्य रामबहादुर थिङको परिवारसँग भेटघाट समेत र्गनुभएको थियो ।

कार्यक्रममा १५ नम्बर वडाअध्यक्ष महारत्न लामाले आफूले वडामा सक्दो प्रयास गरेको बताउनुभयो । उहाँले टोल विकास समिति, स्थानीय क्लबहरुको परिचालन गरेर सचेतनाका कार्यक्रमहरु समेत सञ्चालन गर्ने बताउनुभएको छ । वडामा हाल ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र एक जनाको मृत्य भएको समेत उहाँले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय स्वास्थ्यकर्मी, टोल विकास संस्थाका प्रतिनिधिहरु, स्थानीय क्लबका प्रतिनिधिहरुको सहभागिता थियो ।