हेटौँडाः मकवानपुर जिल्ला बक्सिङ संघको अध्यक्षमा पुनः सुशील घिमिरे चयन हुनुभएको छ । बुधबार भएको संघको १० औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट दोस्रो कार्यकालका लागि घिमिरे सर्वसम्मत चयन हुनुभएको छ ।
अधिवेशनबाट अध्यक्षमा घिमिरेसँगै उपाध्यक्ष उज्वल शर्मा भण्डारी, सचिवमा अमित मनान्धर र कोषाध्यक्षमा राजन शिल्पकार दोहोरिनु भएको छ । यस्तै, सदस्यसचिवमा विकल्प अधिकारी र सदस्यहरुमा श्याम मानन्धर, भूपेन्द्र विष्ट, समामोदीन अन्सारी र ज्ञानेन्द्र महर्जन सर्वसम्मत चयन भएका हुन् । बाँकी सदस्य तथा पदाधिकारी कार्यसमितिको विधानअनुसार मनोनयन गरिनेछ भने आवश्यकता अनुसार सल्लाहकार समिति गठन अधिकारी पनि जिल्ला कार्य समितिमा निहित रहेको छ ।
अधिवेशनमा सचिव अमित मानन्धरले सचिवको प्रतिवेदन र कोषाध्यक्ष राजन शिल्पकारले विसं २०८० जेठदेखि २०८२ चैतसम्मको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्षको प्रतिवेदन अनुसार सो अवधिमा संघले ६ लाख ८७ हजार ८ सय ९८ रुपैयाँ आम्दानी र ६ लाख २७ हजार ९ सय ४० रुपैयाँ खर्च गरेको छ । संघको कुल बचत १ लाख ९१ हजार ७९ रुपैयाँ रहेको छ ।
यसैगरी, संघको खेलाडी अक्षयकोषमा १२ लाख रुपैयाँ रहेको कोषाध्यक्ष शिल्पकारले बताउनुभयो । संघका अध्यक्ष घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल बक्सिङ संघका उपाध्यक्ष सविन भट्टाचार्यको प्रमुख आतिथ्य रहेको थियो ।
