Home मुख्य समाचार अरनिको माविले अंग्रेजी माध्यममा पढाउने

अरनिको माविले अंग्रेजी माध्यममा पढाउने

पत्रकार सम्मेलनमा विद्यालयको अवस्थाबारे जानकारी गराउनुहुँदै प्रधानाध्यापक विष्णु परियार (दायाँबाट पहिलो) ।

हेटौँडा : हेटौँडा–१९, नेवारपानीस्थित अरनिको माध्यमिक विद्यालयले अभिभावकको आकर्षणअनुसार अंग्रेजी माध्यममा पठनपाठन गर्न सुरु गरेको छ । गत शैक्षिक सत्र–२०८२ मा पूर्वप्राथमिक तहदेखि ३ कक्षासम्म अंग्रेजी माध्यममा पठनपाठन गरेको विद्यालयले नयाँ शैक्षिक सत्र–२०८३ देखि कक्षा–४ सम्म अंग्रेजी माध्यममा पठनपाठन गर्ने जनाएको छ । बुधबार विद्यालयमै पत्रकार सम्मेलन गरेर नयाँ शैक्षिकसत्रमा विद्यालयको समग्र शैक्षिक सुधारको प्रयास गरिएको प्रधानाध्यापक विष्णु परियारले जानकारी दिनुभयो ।

अभिभावकको मागअनुसार अंग्रेजी माध्यममा पठनपाठन गर्न लागेपछि विद्यार्थी संख्यामा वृद्धि भएको उल्लेख गर्नुहुँदै प्रधानाध्यापक परियारले विद्यालयको समग्र सुधारको प्रयास भइरहेको बताउनुभयो । विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, कर्मचारी सबै मिलेर विद्यालयको शैक्षिक सुधारका क्रियाकलाप भइरहेको प्रधानाध्यापक परियारको भनाइ छ । २०८२ सालको वार्षिक परीक्षामा ३१ जना अनुपस्थित हुँदा ४ सय ७१ जना विद्यार्थीले परीक्षा दिएका थिए । परीक्षामा सहभागी मध्ये कक्षा–९ सम्मका १ सय ४१ जना विद्यार्थी अनुत्तिर्ण हुँदा २ सय ८१ विद्यार्थी उत्तीर्ण भएका छन् ।

यस वर्ष अरनिको माविबाट ४९ जना विद्यार्थीले एसईई दिएका छन् । पत्रकार सम्मेलनमा वडाध्यक्ष नरनाथ सुवेदीले विद्यालयको समग्र विकासमा वडा कार्यालयले निरन्तर साथ, सहयोग गर्दै आएको बताउनुभयो । सबैको साथ, सहयोगमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न, सबै बालबालिकालाई शिक्षा दिन वडाले आवश्यक सहयोग गर्ने वडाध्यक्ष सुवेदीले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गान्धी घलानले पछिल्लो समय विद्यालयको शैक्षिक वातावरण राम्रो हुँदै गएको बताउनुभयो । सबैलाई समेटेर, सबैको साथ र सहयोगमा विद्यालयको शैक्षिक वातावरण सकारात्मक बन्दै गएको उल्लेख गर्नुहुँदै अझै धेरै मिहिनेत गर्नु आवश्यक रहेको अध्यक्ष घलानले बताउनुभयो ।

पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीले विद्यालयको शैक्षिक सुधारका लागि प्रधानाध्यापकको समन्वयकारी तथा नेतृत्वदायी भुमिका रहनुपर्ने सुझाव दिएका छन् । प्रधानाध्यापकले सबैलाई जिम्मेवारी प्रदान गर्ने, सहयोगी संस्था, व्यक्तिसँग आवश्यक पैरवी गर्ने र विद्यालयको समग्र सुधारमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । पत्रकार सम्मेलनमा विद्यालयको शिक्षक–अभिभावक संघका अध्यक्ष रामप्रसाद पौडेलको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version