हेटौँडा : बागमती प्रदेशको ६ जिल्लामा छुट्टाछुट्टै घटनामा ७ जनाको मृत्यु भएको छ । प्रदेशको दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, धादिङ र चितवन जिल्लामा ७ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दोलखाको वैतेश्वर गाउँपालिका–६, नाम्दुस्थित तामाकोशी–जिरी सडकखण्डमा अनियन्त्रित भई मोटरसायकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मंगलबार राती १० बजेको समयमा चरिकोटबाट मैनापोखरीतर्फ जाँदै गरेको बा प्र ०२–०३६ प ७६०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा चालक वैतेश्वर–४ का ३३ वर्षीय दिनेश कार्की र पछाडि सवार कालिञ्चोक गाउँपालिका–८, सुनखानीका ३३ वर्षीय सन्तोष आचार्य गम्भीर घाइते भएका थिए । घाइते दुवैको मैनापोखरी मेडिकलमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि काठमाडौंस्थित केएमसी अस्पताल लगिएको थियो । उपचारका लागि चालक दिनेशलाई सिन्धुपाल्चोकको खाँडीचौरस्थित सिन्धु सदावहार अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते सन्तोषको काठमाडौंस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
चितवनको खैरहनी नगरपालिका–७, सुर्ताना क्षेत्रमा स्कुटरबाट लडेर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार बिहान ७ बजेको समयमा बा प्र ०६–००१ प ३४३१ नम्बरको स्कुटरबाट लडेर ८२ वर्षीया बुतिया चौधरी लडेर घाइते भएको प्रहरीले जानकारी दिएको छ । स्कुटरबाट लडेर टाउकोमा गम्भीर चोट लागेपछि उनलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो । घाइते बुतियाको उपचारका क्रममा दिउँसो २ बजेर ४२ मिनेटको समयमा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । स्कुटर चालक उनका छोरा ४५ वर्षीय सुरेन्द्र चौधरी रहेको प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, खड्पुस्थित भित्री सडकमा मोटरसाइकल अनियन्त्रित भई पल्टँदा पैदलयात्रीलाई ठक्कर दिएको थियो । आइतबार साँझ ५ बजेको समयमा खड्पुबाट पनौतितर्फ जाँदै गरेको प्र ३–०२–०१३ प ९७७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएर ७८ वर्षीय आशामरु श्रेष्ठलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । घाइते श्रेष्ठलाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको थियो । अस्पतालमा गरिएको जाँचमा बाहिरी चोटपटक नदेखिए पनि छाती र खुट्टामा सामान्य चोट देखिएको र एक्स–रे रिपोर्ट सामान्य आएको भन्दै उनलाई डिस्चार्ज गरिएको थियो । घर फर्किएपछि उनी अचानक बेहोस भई ढलेपछि पुनः उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । उपचारका क्रममा मंगलबार बिहान ७ बजेर ५५ मिनेटको समयमा चिकित्सकले श्रेष्ठलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक पनौती–५ का १८ वर्षीय युनिस तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, टारीवेशी क्षेत्रमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–१ घर भई हाल धादिङ नीलकण्ठ नगरपालिका–१० मा सडक निर्माण कार्यमा संलग्न ३३ वर्षीय दीपक चेपाङ रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार राती दीपकलाई मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको थियो । उनको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारमा सामान्य उपचार पश्चात थप उपचारका लागि जिल्ला अस्पताल धादिङवेशी लगिएको थियो । उपचारको क्रममा बुधबार बिहान ४ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । उनी सडक छेउमा जस्ताले छाएको ट्रसभित्र बस्दै आएका थिए ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ मा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय ईश्वर आचार्य रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार दिउँसो २ बजेर ३० मिनेटको समयमा घर नजिकै रहेको महादेव खोलामा पौडी खेल्ने क्रममा आचार्य डुबेर बेपत्ता भएका थिए । उनलाई उद्दार गरी हेर्दा मृत्यु भइसकेको प्रहरीले जानकारी दिएको छ ।
अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८, नयाँपुलमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मंगलबार ४ बजेर १४ मिनेटको समयमा बाह्रबिसेबाट लामोसाँघुतर्फ जाँदै गरेको बा प्र ०२–०४९ प ७७६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा प्र ०३–०२–००१ प ९०७६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ७७६२ नम्बर मोटरसाइकल चालक सुनकोशी गाउँपालिका–७ का २५ वर्षीय जीवन खत्री र पछाडी सवार १४ वर्षीय जित बहादुर श्रेष्ठ घाइते भएका थिए । घाइते जीवनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल हुँदै काठमाडौंस्थित केएमसी अस्पताल रिफर गरिएको थियो । उपचारको क्रममा जिवनको साँझ ५ बजेर २० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अर्को मोटरसाइकल चालक बाह्रबिसे नगरपालिका–६ निवासी २७ वर्षीय कुमार तामाङ र उनकी श्रीमती ३१ वर्षीया सुनिता तामाङ सामान्य घाइते भएका थिए । उनीहरूको बाह्रबिसे नगर अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ ।
नुवाकोटको विदुर नगरपालिका–१ ढुंगेमा एक पुरुष आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा ४० वर्षीय नवराज अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ । नवराज मंगलबार बिहान ७ बजेको समयमा आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा कोठाभित्र रगत देखिएको र मृतक लागूऔषध दुव्र्यसनमा संलग्न रहेको बुझिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
