हेटौँडा : २०७९ सालको स्थानीय तह निर्वाचनमा हेटौँडा–५ बाट वडाध्यक्ष उम्मेदवार रहनुभएका नेपाली काँग्रेसका क्रियाशील सदस्य ह्याग्रिव आचार्यले पार्टी छाड्नु भएको छ । केही वर्षयता पार्टीले लिएको नीति र क्रियाकलाप देश र जनताका हित विपरीत हुँदै आएको भन्दै आचार्यले नेपाली काँग्रेस जिल्ला कार्यसमितिमा सोमबार राजीनामा बुझाउनुभएको हो ।
राजीनामा पत्रमा आफु २०३८ सालदेखि बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादमा आबद्ध हुँदै २०४६ सालमा पार्टीको साधारण सदस्य र २०५२ सालमा क्रियाशील सदस्य भएको उल्लेख गर्दै पार्टीको दस्तावेज तयार गर्ने र शिक्षा, साहित्य, मानवअधिकार र सहकारीको माध्यमबाट प्रजातान्त्रिक बहुदलबादको संरक्षण एवम् संवद्र्धन गर्दै आएको उहाँले स्पष्ट पार्नुभएको छ । पछिल्लो समय लिएको नीति र क्रियाकलाप देश र जनताका हित विपरीत हुँदै आएकाले आफूले ग्रहण गर्दै आएको सोच र पार्टीले गर्दै आएको क्रियाकलाप बीच अत्यन्तै ठूलो अन्तरविरोध भएकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी यो राजिनामा दिएको आचार्यले बताउनुभयो ।
हेटौंडा ५ निवासी आचार्य विगतमा लामो समय अध्यापन तथा साहित्यको क्षेत्रमा सक्रिय रहनुभएको थियो । शिक्षक पेशाबाट राजीनामा दिँदै २०७९ सालमा स्थानी निर्वाचनमा हेटौंँडा वडा नम्बर ५ बाट वडा अध्यक्षमा उम्मेदवार समेत बन्नु भएको थियो । सो निर्वाचनमा हार व्यहोर्नु भएका आचार्य काँग्रेसमा सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समय नेपाली काँग्रेस पार्टी बीपीको सिद्धान्त भन्दा पनि गुट, उपगुट तथा सत्तामोहमा डुबेको उहाँको आरोप छ ।
