Home मुख्य समाचार हेटौँडामा छुट्टाछुट्टै सवारी दुर्घटनामा ४७ जना घाइते

हेटौँडामा छुट्टाछुट्टै सवारी दुर्घटनामा ४७ जना घाइते

हेटौँडा : हेटौँडामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ४७ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१९, बस्तिपुर क्याम्पाडाँडामा बस र टिपर ठोक्किँदा ४५ जना घाइते भएका छन् । सोमबार बिहान १ बजेर ४० मिनेटको समयमा ना ७ ख ५८३८ नम्बरको सडक छेउमा रोकिराखेको टिपरलाई काठमाडौंबाट झापा काकडभिट्टा जाँदै गरेको बा.प्र.०३–००१ ख २५५६ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा २ जना गम्भीर, ९ जना मध्यम र ३४ जना सामान्य घाइते भएका छन् । घाइतेहरु ३६ जनाको हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भई रहेका छ भने एक जनाको हेटौँडा अस्पतालमा उपचार भई रहेको छ । बाँकी ८ जनालाई हेटौँडा अस्पतालमा सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको छ । टिपर चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–३ का २५ वर्षीय अशोक पाख्रिनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–३ शान्तीचोकमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकल चालक र पैदलयात्री घाइते भएका छन् । आइतबार बिहान ५ बजेर ५० मिनेटको समयमा नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको ना ६० प २०५ नम्बरको मोटरसाइकलले बाटो छेउमा नगरपालिकाको गाडीमा फोहोर फाल्न उभिरहेकी २८ वर्षीया राममाया तामाङलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक बारा जिल्लाको निजगढ नगरपालिका–१३ का ३५ वर्षीय वीरबहादुर प्रजा पनि घाइते भएका थिए । घाइते दुवै जनाको चुरेहिल अस्पतालमा उपचार भई रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version