हेटौँडाः मकवानपुर सुनचाँदी व्यवसायी संघको ११ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीको प्रमुख आतिथ्य तथा मकवानपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन शाक्यको सभाध्यक्षतामा साधारणसभा भएको हो ।
साधारणसभामा बोल्दै सहभागीहरुले नेपाल सरकारले लगाउदै आएको २ प्रतिशत बिलासिता शुल्क र मूल्य अभिवृद्धि कर हटाउनुपर्ने माग गरेका छन् । यस्तै, १० लाखभन्दा बढी मूल्यको सुन तथा चाँदीको गहनाहरु खरिद गर्दा खरिदकर्ताको सो रकमको स्रोत खुलाउनुपर्ने नियमका कारण काम गर्न असहज भएको गुनासो गरेका छन् । कार्यक्रममा संघका सदस्यहरुको परिवारबाट अघिल्लो बर्ष एसईईमा उत्तीर्ण भएका ६ जना विद्यार्थीहरुलाई जनही २ हजार ५ सयका दरले रकमसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं १० का अध्यक्ष फुर्वा दोर्जे लामा, मकवानपुर उद्योग वाणिज्य संघका सचिव कुलप्रसाद चौलागाईं, मकवानपुर सुनचाँदी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष गोपीलाल विश्वकर्मा, द्वितीय उपाध्यक्ष विजय विश्वकर्मा, सचिव राजकुमार विश्वकर्माको आतिथ्य थियो । कार्यक्रममा संघको काठमाडौं, भक्तपुर, ललितपुर, चितवनलगायत अन्य जिल्लाहरुबाट समेत सदस्यहरुको उपस्थिति थियो ।
