Home अर्थ/व्यापार निर्माण सामग्री अभाव र लागत बढ्दा समस्या

निर्माण सामग्री अभाव र लागत बढ्दा समस्या

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउनुहुँदै निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेल ।

हेटौँडा : निर्माण व्यवसायी संघ मकवानपुरले निर्माणजन्य सामग्रीहरुको मूल्यवृद्धिको विरोध गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी समक्ष संघका अध्यक्ष बालगोपाल कँडेलसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो । चैत्र महिनादेखि इरान–इजरेल युद्धका कारण देखाउँदै सरकारले इन्धनको मूल्यवृद्धिको विषयमा संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ज्ञापनपत्रमा निर्माण सामग्रीहरु छड, सिमेन्ट, जस्तापाता, बिटुमिन, ढुङ्गा, गिट्टी, बालुवा, ढुवानी लगायत निर्माणजन्य सामग्रीहरु र उद्योगजन्य सामग्रीहरु को मूल्यवृद्धिले निर्माण व्यवसायीहरुलाई धेरै आर्थिक भार परेको उल्लेख गर्दै पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरुलाई नै आर्थिक बोझ थपिने संघले ठहर गरेको छ । इन्धनमा भएको भारी मूल्यवृद्धि बाहेक निर्वाचनको मौका पारेर सीमित आयातकर्ताहरुले कार्टेलिङ्ग गर्दै सडक निर्माणमा प्रयोग हुने बिटुमिनको अभाव सिर्जना गरी निर्माण व्यवसायीहरुलाई ठूलो आर्थिक समस्या परिरहेको समेत संघको दावी छ ।

सीमित उद्योगीहरुले मूल्यवृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेकाले भुक्तानी अभावको कारण निर्माण व्यवसायीहरुको चालु आर्थिक वर्षभित्र नसकिने निर्माण कार्यहरू केहीमा सम्झौता हुन बाँकी रहेको तथा केही योजनाहरूमा काम सुरु गर्नै नसकिने जनाउँदै बजेट फ्रिज हुने जोखिम बढेकोमा सरकारको ध्यानाकर्षण गराएको छ । सरकारी निकायबाट स्पष्ट नीति, समयमै निर्णय र अभिभावकत्वको अभावका कारण व्यवसायीहरू अन्यौलमा रहेको बताउँदै ज्ञापनपत्रमा सार्वजनिक खरिद ऐन र नियमावली अनुसार प्रत्येक आयोजनामा मूल्यवृद्धि भए अनुरुप मूल्य समायोजनको व्यवस्था गर्न आग्रह गरेको छ ।

एकातिर बजारमा निर्माण सामग्रीको मूल्यवृद्धि हुने र अर्कोतर्फ राष्ट्रबैंकबाट जारी हुने मूल्य सूचकाङ्क वास्तविक नहुने भएकोले यस्ता निर्माण सामग्रीहरुको मूल्य स्थिर नहुँदासम्मका लागि सरकारको तर्फबाट नै कन्सट्रक्सन होलिडे अर्थात (निर्माण कार्य बन्द) घोषणा गर्दै मूल्य समायोजनको व्यवस्था तत्काल लागु गरी निर्माणका आयोजनाहरु संचालन गर्न सरकार समक्ष माग गरिएको छ ।

Exit mobile version