आमा

पृथ्वी भन्दा ठुलो स्वर्ग अरु कुनै छैन
आमा भन्दा ठुलो ईश्वर अरु हुँदै हैन

आज मातातीर्थ औंसीको दिन । आमाप्रति सद्भाव र प्रेम दर्शाएर अनुग्रहित हुने दिन । जीवित आमाहरूलाई स्नेह, सुस्वास्थ, दिर्घायुको कामना गर्दै सगुन र मिष्ठान्न भोजन गराएर माया ममता र कृतज्ञता अर्पण गर्ने दिन पनि हो । आजकै दिन मृत आमाको सम्झनामा शान्तिको कामना गर्दै दान र तर्पण गर्ने दिन पनि हो । यो हामी कहाँ चली आएको चलन हो ।

वास्तवमा आमा को हो ? बाँचुन्जेल आमाले सुख, शान्तिपूर्वक आफ्नो जीवनयापन गर्न पाएको छ कि छैन ? हामीलाई जन्माउने आमाले गर्भ धारण गरेदेखि हामीलाई हुर्काउन बढाउन, योग्य र सक्षम नागरिक बनाउन कति गरे, हरेक सन्तानले यस्को लेखाजोखा गर्नैपर्छ । आमाले सन्तानप्रति गरेको माया, ममता, त्याग, तपस्या र संघर्षको ऋण चुकाउनै पर्छ । एकदिन आमालाई मिठो मसिनो खुवाएर आमाको सम्झनामा दान र पूण्य गरेर ऋण चुक्ता हुने होइन ।

आमाले हामीलाई गर्भधारण गरेर ९ महिनासम्म अनेकौं कष्ट सहेर आफ्नै हाड, मासु र रगतले सिंचेर यो धर्ती, यो रमाइलो पृथ्वीमा नजन्माउनु भएको भए हामीले यो स्वर्गको अनुभुती गर्न पाउने नै थिएनौं । मलाई त के विश्वास छ भने यो धर्ती र यो पृथ्वी भन्दा अर्को कुनै स्वर्ग छैन । यो अलौकिक अनौठो अकल्पनीय पृथ्वीमा के छैन ? सबथोक छ । यो धर्ती, यो माटोले हामीलाई जीवन पर्यन्त सुखभोग गर्न अन्न, पानी, हावा सबथोक दिएको छ । रमणीय र विशाल हिमशृङ्खला बनाएको छ, लाखौं लाख जीवजन्तु, चराचुरुङ्गीहरुको बासस्थान बनाएको छ । रमणीय पहाड, डाँडा–काँडा निर्माण गरेको छ । खोला, नाला, छहरा, झरना, ताल, तलैया र पोखरीको निर्माण गरेको छ । समथर फाँटहरु बनाएर गाउँ, बस्ती र शहरहरुको निर्माण भएको छ । बाह्रै महिना बाह्रै काल थरीथरीका अन्न र खाद्यान्न उब्जनी हुने थलो बनाएको छ । यहाँ के छैन, सबथोक छ । यस्तो रमणीय र अकल्पनीय पृथ्वीमा जन्म दिने आमा महान हुन् । सारा आमा र आमाका सन्तानलाई आश्रय दिएर जीवन पर्यन्त दुख सुखको अनुभूती गराउने धर्ती माता पनि उत्तिकै महान छ ।

आफ्नै रगत पसिना सिंचेर दसधारा दूध चुसाएर मलमुत्र सोहरेर जस्तोसुकै दुख कष्टलाई पनि हाँसी–हाँसी सहेर हुर्काउने यो संसार देखाउने आमाप्रति हामी अनुग्रहित र कृतज्ञ हुनैपर्छ । वृद्धावस्थाले कमजोर बनाउँदै लगेको आमालाई आड, टेवा र भरोसा दिनुहोस्, स्वाभिमानी र आत्म सम्मानित बन्नुहोस् । आमाप्रति गर्व गर्नुहोस् यो नै हाम्रो आमाप्रति सम्मान हो, कर्तव्य हो । बाँचुन्जेल आमाको वास्ता नगर्ने, वृद्धाश्रममा, जिम्मा लगाउने यस्ता सन्तान पनि हुन्छन् । मृत्यु पश्चात् पिण्डपानी दिएर दान पूण्य गरेर तीर्थस्थलहरुमा गएर आमाको मृत आत्माको पूण्य चाहनेहरु पनि थुप्रै छन् । आफ्नो आस्था र मान्यता अनुसार यस्ता कार्य गर्नेहरुको सोँचमा केही परिवर्तन आएको छ । भोका नाङ्गा दिनदुखीलाई आमाको सम्झनामा एक छाक भएपनि खुवाउनु पर्दछ भन्ने । वृद्धाश्रम र असहाय केन्द्रहरुमा धाउन थालेका छन्, यो पनि एउटा सकारात्मक पक्ष हो ।

जन्मदिने आमा र धर्ती माताको ऋण चुक्ता गर्न हामी कृतज्ञ भएर बाँच्ने कि कृतघ्न भएर बाँच्ने ? हामी कृतज्ञ भएर बाँच्ने हो भने आमाप्रति सम्मान गर्न सिकौं । मिहिनेत र परिश्रमको कमाइ मात्र खाने गरौं । यो धर्तीमा अरुलाई लुटेर, भ्रस्ट्राचार गरेर जनतालाई निचोरेर धन, सम्पती आर्जन गर्ने, कमिशन खाएर देशलाई डुबाउने, समाजलाई कंगाल बनाउने, सभ्य भनाउँदा असभ्य सन्तानहरुको यो धर्तीमा कमि छैन । आफ्नो स्वार्थका लागि जे पनि गर्ने त्यस्ता दुष्ट र कुपुत्रहरु यो धर्तीका अभिसाप हुन् । आमाले दिएको र गरेको माया यो समाजमा पनि दिउँ । मानवले मानवलाई प्रेम गर्नु यो धर्ती स्वर्ग बनाउनु हो । हामी हाम्रो कर्तव्यबाट बिमुख नहुनु, स्वाभिमान र आत्मसम्मानका साथ बाँच्न सक्नु मिहिनेत र परिश्रममा मात्र बाँच्न कोसिस गर्नु आमाप्रति सच्चा सम्मान हो, राष्ट्रप्रतिको प्रेम हो ।

आमा, नेपाल आमा, धर्ती आमा यी हाम्रा माया, श्रद्धा र गौरवका प्रतिक हुन् । २०८३ को वर्ष नेपाल र नेपाली जनताका लागि सुखमय होस् । हार्दिक शुभकामना ।

Exit mobile version