हेटौँडाः २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज आइतबार सकिँदैछ । देशव्यापी रुपमा चैत १९ गतेदेखि एसईई सुरु भएको थियो ।
एसईईको साधारणतर्फको परीक्षा गत बिहीबार नै सम्पन्न भइसकेको छ भने प्राविधिक धारको अन्तिम परीक्षा आज आइतबार समाप्त हुनेछ । यस वर्ष मकवानपुरका सामुदायिक तथा संस्थागत गरी कुल १ सय ४२ वटा विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी भएका छन् ।
जिल्लामा रहेका ३७ वटा संस्थागत र १ सय ५ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी भएका हुन् । नियमिततर्फ ५ हजार ५ सय २७ जना र ग्रेडवृद्धितर्फ १ हजार ६ सय ६५ जना विद्यार्थीले परीक्षा फारम भरेका थिए ।
१० वटा विद्यालयका विद्यार्थीहरु प्राविधिक धारको विषयमा एसईईमा सहभागी भएका छन् । २ वटा विद्यालयका विद्यार्थीहरु पूर्ण प्राविधिक धारको विषयमा मात्र परीक्षामा सामेल भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।
जिल्लामा कुल २८ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । हेटौँडा उपमहानगरपालिकामा १५ वटा परीक्षा केन्द्रहरुमा परीक्षा सञ्चालन भएको थियो । थाहा नगरपालिकामा ३ वटा, मनहरी र बकैया गाउँपालिमा दुई÷दुई वटा परीक्षा केन्द्रहरुमा परीक्षा सञ्चालन भएको थियो । बाँकी स्थानीयहरुमा एक÷एक वटा परीक्षा केन्द्रहरु तोकिएको थियो । एसईईका लागि २ वटा संस्थागत विद्यालयमा र बाँकी २६ वटा सामुदायिक विद्यालयमा परीक्षा केन्द्रहरु निर्धारण गरिएको थियो ।
यसपटकको एसईईको उत्तरपुस्तिकाको परीक्षा केन्द्रमै परीक्षण गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदिप गिरीका अनुसार सबै विषयको उत्तरपुस्तिका परीक्षण भइसकेको र अहिले संकलन गर्ने कार्य जारी छ । आइतबार दिउँसोसम्म सबै उत्तरपुस्तिका जिल्लामा आइपुग्ने र त्यसपछि परीक्षा नियन्त्रण कार्यालयमा पठाउनु पर्नेछ । बैशाख ५ गतेसम्म सबै जिल्लाले परीक्षा नियन्त्रण कार्यालयमा उत्तरपुस्तिामा पठाउनुपर्ने भए पनि मकवानपुरका उत्तरपुस्तिका बैशाख २ गतेसम्म पठाइसक्ने इकाई प्रमुख गिरीको भनाइ छ ।
परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका जाँच गर्दा केही चुनौतीहरुको पनि सामना गर्नुपरेको उहाँले बताउनुभयो । राक्सिराङ र भीमफेदीजस्ता विकट ठाउँमा विषयगत शिक्षक नपाएकाले अन्य पालिकाका विद्यालयबाट समन्वय गरेर शिक्षक पठाएको उहाँले बताउनुभयो ।
