Home मुख्य समाचार छुट्टाछुट्टै घटनामा ३ जिल्लामा ३ जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा ३ जिल्लामा ३ जनाको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । प्रदेशको दोलखा, चितवन र नुवाकोट जिल्लामा सोमबार ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित छो–रोल्पा क्षेत्रमा एक युवकको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा टाँसिनाम बस्ने २२ वर्षीय सुकमान तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । गत शुक्रबार ६ महिना अघि जडान गरिएको पानीको बहाव नाप्ने उपकरण जापानीज प्रोजेक्टको सामग्री संकलन गर्न ११ जनाको टोलीमा सुकमान आएका थिए । सोही क्रममा मंगलबार साँझ ६ बजेतिर तामाङ अचानक बिरामी परेका थिए । उनको अवस्था गम्भीर बन्दै गएपछि बुधबार घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

नुवाकोटको विदुर नगरपालिका–९ शिलट्याङ भित्रि सडकखण्डमा स्कुटर सडक छेउको बिजुलीको पोलमा ठोक्किएर एक किशोरीको मृत्यु भएको छ भने एक किशोर घाइते भएका छन् । आइतबार राती ९ बजेको समयमा शिलट्याङबाट विदुरतर्फ जाँदै गरेको बा ५६ प ७६४६ नम्बरको स्कुटर सडक छेउको बिजुलीको पोलमा ठक्कर खाई अनियन्त्रित हुँदा १५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा स्कुटर चालक विदुर नगरपालिका–५ देविघाटका १५ वर्षीय जुसेफ तामाङ र पछाडि सवार किस्पाङ गाउँपालिका–१ भाल्चेकी १७ वर्षीया पूर्णिमा घले घाइते भएका थिए । घाइते दुवैलाई प्रारम्भिक उपचारका लागि त्रिशूली अस्पताल लगिएको थियो । अवस्था गम्भीर भएपछि पूर्णिमालाई थप उपचारका लागि काठमाडौँ मेडिकल कलेज अस्पताल र पछि पुनः त्रिवि शिक्षण अस्पताल (टिचिङ) लगिएको थियो । उपचारका क्रममा बिहीबार बिहान १० बजेर ५६ मिनेटको समयमा पूर्णिमाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवनको माडी–ठोरी हुलाकी राजमार्ग अन्तर्गत माडी नगरपालिका–८ खरकट्टा क्षेत्रमा बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ ५ बजेर ५ मिनेटको समयमा नारायणगढबाट ठोरीतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ०२०४ नम्बरको बसले बाटो क्रस गर्दै गरेकी पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा माडी नगरपालिका–८ खरकट्टाका १८ वर्षीया प्रिति परियार (मानसिक अवस्था अस्थिर रहेको) गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि बघौडा अस्पताल माडी लगिएको थियो । उपचारका क्रममा साँझ ६ बजेर ४० मिनेटको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बस र चालक माडी नगरपालिका–६ कल्याणपुरका ४५ वर्षीय गुप्त बहादुर गुरुङलाई नियन्त्रणमा लिइएको छ ।

Exit mobile version