Home मुख्य समाचार उद्योग संघ मकवानपुरको अध्यक्षमा मास्के

उद्योग संघ मकवानपुरको अध्यक्षमा मास्के

हेटौँडा: उद्योग संघ मकवानपुरमा श्रीहरि मास्केको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । बिहिबार सम्पन्न संघको २४ औं साधारणसभा तथा १८ औं अधिवेशनले मास्केको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा किशोर अर्याल, उपाध्यक्षमा सुयशराज पराजुली, महासचिवमा शिरोमणि प्याकुरेल, सचिवमा बुद्धराज अर्याल, कोषाध्यक्षमा दिवस चौलागाईं तथा सह–कोषाध्यक्षमा शरदचन्द्र भट्टराई चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा ज्ञानराज लामा, सबिना सडौला, कृष्ण प्रसाद न्यौपाने, लिलाचन्द्र तिमल्सिना, प्रल्हाद घिमिरे, कुमार श्रेष्ठ र बजरंग सिँह तनवर रहनुभएको छ । साधारणसभाको उद्घाटन गर्दै उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले आयात प्रतिस्थापनका लागि सरकारले तयारी सामग्री र कच्चा पदार्थमा फरक दरले भन्सार निर्धारण गर्नुपर्ने बताउनुभएको छ ।

सरकारले कच्चा र तयारी सामग्रीहरुमा उस्तै दरमा भन्सार लगाउदा उत्पादनपछि नेपाली सामग्रीको मुल्य बढ्न गई आयातित तयारी सामग्री भन्दा नेपाली सामान महङ्गोमा बिक्रि गर्न बाध्य भएकोले नेपाली सामग्रीहरुको बजारीकरणमा समेत ठुलो समस्या झेलिरहेको बताउँदै अध्यक्ष पाण्डेले कच्चा पदार्थको भन्सार दरमा दुइतिहाइ कम भएमात्र उत्पादनपछि बिदेशी सामग्रीसँग प्रतिस्पर्धा गर्न सकिने उल्लेख गर्नुभयो ।

उहाँले राज्यले उत्पादनमुलक उद्योग र व्यापारिक प्रतिष्ठानको फरक बुझेर नीति बनाउनुपर्ने बताउनुभयो । उत्पादनले निर्यात व्यापार समेतलाई टेवा दिने भएकोले देशको आर्थिक खम्बा बलियो हुने उहाँको निष्कर्ष छ । उहाँले आत्मनिर्भर अर्थतन्त्रका लागि नीतिगत तथा कानुनी सुधार समेत आवश्यक रहेकोमा जोड दिनुभयो । औद्योगिक विकासलाई असर पर्ने असान्दर्भिक २८ वटा ऐन संशोधन तथा ५ ऐन खारेज गर्नुपर्ने बताउँदै सार्वजनिक खरिद ऐनलाई समयसापेक्ष बनाउन सरकारसँग पनि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रत्येक दुई वर्षमा प्रदान गरिँदै आएको पत्रकारिता पुरस्कार यस वर्ष मकवानपुरकी पत्रकार भावना रिजाललाई नगद १५ हजार रुपैयाँसहित प्रदान गरिएको थियो । यस्तै वडा नं ९ स्थित प्रगति माबिलाई १० हजार रकमको मायाको चिनो प्रदान गरिएको थियो । उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्य तथा उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामा, बागमती प्रदेश उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष दिवस न्यौपाने, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्ज्वल चौलागाई, आन्तरिक राजश्व कार्यालयका प्रमुख करअधिकृत युक्तप्रसाद सुवेदी, नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका उपाध्यक्ष सुदिप घिमिरे लगायतको आतिथ्यता थियो । संघमा हाल मकवानपुर जिल्लाका विभिन्न स्थानमा रहेका १ सय ५० उद्योगहरू आबद्ध रहेका छन् ।

Exit mobile version