हेटौँडा : बागमती प्रदेशसभा बैठकमा २ विधेयक पेश भएका छन् । प्रदेशसभाको बुधबार बसेको बैठकमा अर्थ तथा वित्तीय र खानेपानी तथा सरसफाई सम्बन्धी विधेयक पेश भएको हो ।
बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका हुन् भने प्रदेशका खानेपानी उर्जा तथा सिंचाई मन्त्री कृष्णकुमार तामाङले प्रदेश खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका हुन् । संसदमा पेश भएका उक्त विधेयक प्रदेशसभाका आगामी बैठकमा छलफलमा अघि बढ्ने छ ।
मंगलबारबाट सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशन अन्तर्गतको बुधबार २ वटा बैठकहरु संचालन भएका थिए । उक्त बैठकहरुमा विशेष समयमा प्रदेश सभा सदस्यहरुले समयसामयिक विषयहरुमा धारणा राखेका थिए । प्रदेशसभाको अर्को बैठक बिहीबार बिहान बस्ने छ । उक्त बैठकमा विधेयक माथिको छलफल तथा केही प्रतिवेदनहरु पेश हुने कार्यसूचि रहेको छ ।
