हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले पालिकास्तरीय (कक्षा–८) को परीक्षाफल बुधबार सार्वजनिक गरेको छ । हेटौँडा उपमहानगरपालिकाका ८४ दशमलव ३७ प्रतिशत विद्यार्थी ग्रेडेड भएको पालिकाले जनाएको छ ।
हेटौँडा उपमहानगरका ८४ वटा विद्यालयबाट ३ हजार ९ सय २० जना विद्यार्थी कक्षा–८ को वार्षिक परीक्षामा सहभागी भएका थिए । परीक्षा फारम भरेका २२ जना विद्यार्थी परीक्षामा अनुपस्थित भएका थिए । परीक्षामा सहभागी भएका मध्ये ३ हजार ३ सय २६ जना ग्रेडेड हुँदा ६ सय १६ जना विद्यार्थी ननग्रेडेड भए ।
सार्वजनिक भएको नतिजाअनुसार जीपीए ३.६ भन्दा बढी ल्याउने ५ सय २ जना, जीपीए ३.२ देखि ३.६ सम्म प्राप्त गर्ने ८ सय ८३ विद्यार्थी छन् । यस्तै १ हजार १ सय २ जना विद्यार्थीले २.८ जीपीएदेखि ३.२ जीपीए प्राप्त गरेका छन् । ७ सय ९ जना विद्यार्थीले जीपीए २.४ देखि २.८ प्राप्त गरेका छन् । यस्तै जीपीए २ देखि २.४ हासिल गर्ने १ सय २९ जना हुँदा १ जना विद्यार्थीले जीपीए १.६ देखि २ भित्र अंक प्राप्त गरेका छन् ।
हेटौँडा उपमहानगरले नतिजासँगै मौका परीक्षाको तालिका पनि सार्वजनिक गरेको छ । ३ वटा विषयसम्म ननग्रेडेड भएका विद्यार्थीले ग्रेडवृद्धि मौका परीक्षा दिन पाउनेछन् । ग्रेडवृद्धि मौका परीक्षा आगामी बैशाख ७ गतेबाट सुरु हुनेछ ।
