हेटौँडा : मकवानपुरमा ३ दिनमा ३२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । गत मंसिरदेखि रोकिएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम आईतबारदेखि सुरु भएको छ ।
पहिलो ३ दिनमा ३२ जना नयाँ मतदाताले नाम दर्ता गराएका छन् भने ७ जनाले अद्यावधिक गराएका छन् । मंगलबार मात्रै १० जनाले कार्यालयमा आएर फोटो खिचाएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ । गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण मंसिरदेखि नामावली संकलन तथा अद्यावधिक कार्यक्रम स्थगित भएको थियो ।
चैत १८ गते बसेको निर्वाचन आयोगको बैठकले आईतबारदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः सुचारु गर्ने निर्णय गरेको थियो । मतदाता नामावली दर्ता गर्दा मतदाताको ठेगाना जहाँ भएपनि देशभर रहेका जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयबाट सजिलै सेवा लिन पाउनेछन् । नामावली जहाँ दर्ता गरिएपनि मतदाता नामावली मतदाताको स्थायी ठेगानामै कायम हुने व्यवस्था रहेको छ ।
