हेटौँडा:आज बिहिबारबाट माध्यमिक शिक्षा परीक्षा (एसइइ) सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ । यस वर्ष मकवानपुरमा ७ हजार १ सय ९२ जना विद्यार्थीहरु एसईईमा सामेल हुँदैछन् । मकवानपुरका सामुदायिक तथा संस्थागत गरी कुल १ सय ४२ वटा विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी हुनेछन् । जिल्लामा रहेका ३७ वटा संस्थागत र १ सय ५ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुँदैछन् । नियमित तर्फ ५ हजार ५ सय २७ जना र ग्रेडवृद्धितर्फ १ हजार ६ सय ६५ जना विद्यार्थीले परीक्षा फारम भरेका छन् ।
१० वटा विद्यालयका विद्यार्थीहरु प्राविधिक धारको विषयमा एसईईमा सहभागी हुँदैछन् भने २ वटा विद्यालयका विद्यार्थीहरु पूर्ण प्राविधिक धारको विषयमा मात्र परीक्षामा सामेल हुने शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ । इन्द्रसरोवर गाउँपालिकाको कालिका माध्यमिक विद्यालय र मकवानपुरगढी गाउँपालिकाको बंशगोपाल माविबाट प्राविधिक विषय अन्तर्गत कृषि विषयमा मात्र विद्यार्थीहरु परीक्षामा सामेल हुने शिक्षा विकास तथा समन्वय इकाइकी सूचना अधिकारी उन्नति ढकालले जानकारी दिनुभयो । प्राविधिक धारमा कुल १० विद्यालयका २ सय ६३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । जसमध्ये १ सय ७५ जना नियमित तथा ८८ जना ग्रेडवृद्धिका लागि परीक्षा दिँदैछन् ।
एसईईका लागि जिल्लामा कुल २८ वटा विद्यालयहरुमा परीक्षा केन्द्र तोकिएका छन् । हेटौँडा उपमहानगरपालिकामा १५ वटा परीक्षा केन्द्रहरु तोकिएका छन् । थाहा नगरपालिकामा ३ वटा, मनहरी र बकैया गाँउपालिमा दुइ÷दुइ वटा परीक्षा केन्द्रहरु तोकिएका छन् । बाँकी स्थानीयहरुमा एक÷एक वटा परीक्षा केन्द्रहरु तोकिएका छन् । यि परीक्षा केन्द्रहरु मध्ये २ वटा संस्थागत विद्यालयमा र बाँकी २६ परीक्षा केन्द्रहरु भने सामुदायिक विद्यालयमा तोकिएका छन् ।
यसपटकको एसईईको उत्तरपुस्तिकाको परीक्षण स्थानीय तहमै हुने तयारी गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइले एसईईको उत्तरपुस्तिका परीक्षा सम्पन्न भएपछि सोही दिनदेखि नै परीक्षण गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी रहेकोले परीक्षा केन्द्रको केन्द्राध्यक्ष तथा विषयगत शिक्षकहरुलाई तयारी रहन आग्रह समेत गरिसकेको छ । एसईई उत्तरपुस्तिका परीक्षणसम्बन्धी कार्यविधि बुधबार सार्वजनिक भइसकेको छ । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सुदीप गिरीले कार्यबिधीमा उल्लेख भएबमोजिम निर्देशन दिइने बताउनुभयो ।
