हेटौँडा:प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत बुधबार भएको खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । जनकपुरको रामजानकी क्रिकेट मैदानमा भएको खेलमा बागमती प्रदेशका कप्तान सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ७ विकेट लिँदा बागमती प्रदेश ६० रनले विजयी भएको हो ।
सुरुमा टस हारेर व्याटिङको निम्तो पाएका बागमती प्रदेशले कर्णाली प्रदेशलाई १८१ रनको लक्ष्य दिएको थियो । बागमतीका लागि विवेक राना मगरले सर्वाधिक ५६ रन बनाए । ईशान पाण्डेले २७ रन, पवन बहादुर थापाले २२ रन, शुभ कंसाकारले २० रन र शिवम् तिवारीले १८ रनका योगदान गरे । बागमतीका अन्य व्याटरले भने दोहोरो अंकमा पनि रन जोडन सकेनन् । कर्णाली प्रदेशका कप्तान दिवान पुनले ३ विकेट, प्रकाश जैसी, दिपेन्द्र रावत र निश्चल रावलले समान २/२ विकेट लिए ।
लक्ष्य पछ्याइरहेको कर्णाली प्रदेश १२० रनमै रोकियो । कर्णाली प्रदेश २५ ओभर १ बलमा १२० रनमा अलआउट हुन पुग्यो । कर्णालीका लागि निश्चल रावलले सर्वाधिक ३१ रन र दिनेश अधिकारीले २२ रन बनाए भने अन्य व्याटरहरुले राम्रो प्रदर्शन गर्न सकेनन् । बागमतीका कप्तान लामिछानेले ७ विकेट लिँदा प्रतिश जिसी, रिजन ढकाल र सुवास खत्रीले समान १/१ विकेट लिए ।
यस्तै बुधबार वीरगंजमा भएको अर्को खेलमा लुम्बिनी प्रदेशले विभागीय टोली नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ । वीरगंजको नारायणी रंगशालामा भएको खेलमा लुम्बिनीले एपीएफ क्लबलाई सुपर ओभरमा पराजित गरेको हो । टस जितेर व्याटिङ गरेको एपीएफ क्लब ३९ ओभर ४ बलमा १२४ रनमा अलआउट हुँदै लुम्बिनीलाई १२५ रनको लक्ष्य दिएको थियो । एपीएफका लागि अभिषेक गौतमले २८ रन र दिपक बोहराले २० रन बनाए । लुम्बिनीका अजय चौहानले ४ विकेट, सन्तोष यादवले ३ विकेट र निर्मल गुरुङले २ विकेट लिएका थिए ।
जवाफी व्याटिङमा उत्रिएको लुम्बिनी प्रदेश पनि ३४ ओभरमा समान १२४ रनमा अलआउट हुँदा खेल सुपर ओभरमा पुगेको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले ४५ रन र आकाश त्रिपाठीले ३२ रन बनाउँदा एपीएफका कप्तान रोहित कुमार पौडेलले ३ विकेट लिएका थिए । यस्तै एपीएफका युवराज खत्री, भुवन कार्की र अभिशेष गौतमले २ विकेट लिए ।
सुपर ओभरमा एपीएफ क्लब लुम्बिनीसँग ८ रनले पराजित भएको छ । सुपर ओभरमा लुम्बिनीले सुरुमा १ विकेट गुमाएर १४ रन बनाउँदा एपीएफले समान १ विकेट गुमाएर ६ रन मात्रै बनाउन सक्यो । १० वटा टोली सम्मिलित जारी प्रतियोगितामा ५ खेलबाट ५ अंक जोडेको लुम्बिनी प्रदेश अंक तालिकाको पाँचौँ स्थानमा छ भने समान खेलबाट ४ अंकसहित बागमती प्रदेश छैठौँ, ३ अंकसहित कर्णाली सातौँ र ३ अंकसहित विभागीय टोली एपीफ क्लब पुच्छारबाट दोस्रो स्थानमा रहेको छ ।
