मकवानपुर जिल्लाका १० स्थानीय तहमा सञ्चालन भएको आधारभूत तहको वार्षिक परीक्षा सम्पन्न भएको छ । चैत ८ गतेदेखि सुरु भएको परीक्षा सोमबार सबै पालिकामा सकिएको छ । कक्षा ८ बाहेक अन्य सबै तहका परीक्षाहरु एकै पटक भएको मकवानपुरका पालिकाहरु परिक्षार्थी अनुपस्थितिको दर उच्च देखिन्छ । कक्षा ८ को परीक्षा पालिकास्तरीय हुने भएकाले सम्बन्धित स्थानीय तहका विद्यालयहरुमा एकै पटक संचालन भएको थियो । मकवानपुरका ९ वटा स्थानीय तहमा कक्षा ८ को परीक्षामा ३३८ जना विद्यार्थी परीक्षामा अनुपस्थित भएका छन् भने १ देखि ९ कक्षासम्मका परीक्षामा पनि उल्लेखनीय अनुपस्थिति पाइएको तथ्यांकले देखाएको छ ।
९ वटा पालिकाको परीक्षार्थीहरुको अनुपस्थिति दरले शैक्षिक संस्थाहरुको निरन्तरता र विद्यार्थीको नियमित उपस्थिति बारे प्रश्न खडा गरेको छ । ९ स्थानीय तहको कक्षा ८ को परीक्षामा विद्यार्थी अनुपस्थित हुनेमध्ये सबैभन्दा बढी मकवानपुरगढी गाउँपालिकाको रहेको छ । सो पालिकामा कक्षा ८ मा ८० जना विद्यार्थीहरु सहभागी भएनन् । इन्द्रसरोवर गाउँपालिकामा १ जना विद्यार्थी मात्र कक्षा ८ को परीक्षामा अनुपस्थित भए । बागमती, बकैया, राक्सिराङ, मनहरी, थाहा, कैलाश लगायतका पालिकाहरुमा पनि अनुपस्थित विद्यार्थीको संख्या फरक–फरक देखिएको छ ।
हेटौँडा उपमहानगरपालिकाले भने परीक्षा व्यवस्थापन विद्यालयस्तरमै भइरहेको जनाएको छ । शैक्षिक व्यवस्थापनमा विकेन्द्रीकरणको अभ्यास गरेको हेटौँडाले विद्यार्थी तथा विद्यालयको गुणस्तरका तथ्यांक समेत तयार गर्न सकेको देखिँदैन । जसले जिल्लागत शैक्षिक विवरण संकलनमा कठिनाई देखिएको छ । स्थानीय तहसँग शैक्षिक तथ्यांक नहुँदा आगामी योजना निर्माण, बजेट कार्यक्रम र शैक्षिक गुणस्तर व्यवस्थापन तथा सुधारको आधार के हुने भन्ने प्रश्न खडा हुन्छ ।
पालिकाहरुले फरक–फरक समयमा परीक्षा संचालन गर्ने परिपाटीका कारण सबै पालिकाबाट एकरुप र पूर्ण तथ्यांक संकलन नहुनु नीति निर्माण तथा योजना कार्यान्वयनमा चुनौती देखिएको छ । विद्यालयहरुले परीक्षा सम्पन्न गरी नतिजा प्रकाशनको तयारीमा जुटेका छन् । सबै स्थानीय तहले चैत महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको अवस्था छ । बकैया गाउँपालिकाले २७ गते, कैलाशले २२ गतेभित्र तथा अन्य पालिकाले पनि चैत महिनाभित्र नतिजा निकाल्ने तयारी गरिएको छ ।
उक्त अवस्थाका बीच पालिकाका शिक्षा शाखा प्रमुखका अनुसार विद्यार्थी विद्यालय परिवर्तन गर्ने, बीचमै पढाइ छाड्ने तथा अन्य व्यक्तिगत कारणले परीक्षामा अनुपस्थित हुने गरेको देखिन्छ । प्रस्तुत विवरण अनुसार विद्यार्थीहरुको पठनपाठन प्रतिको लगाव कम हुनुको कारण बारे न पालिका जिम्मेवार देखिन्छ , न नै सम्बन्धित विद्यालय । विद्यार्थीले शैक्षिक सत्रको बीचमै विद्यालय छाड्ने (ड्रपआउट) दर निरन्तर उच्च भइरहँदा पालिकाहरुले विद्यालय छाड्ने दर न्यूनीकरण गर्न, विद्यार्थीलाई टिकाई राख्ने योजना बनाउनु जरुरी देखिन्छ । समग्रमा, परीक्षा सफलतापूर्वक सम्पन्न भए पनि विद्यार्थी अनुपस्थितिको दरले शिक्षा प्रणालीमा निरन्तरता, निगरानी र विद्यार्थी टिकाउपन सम्बन्धी चुनौति अझै विद्यमान रहेको संकेत गर्छ । स्थानीय तहहरूले अब नतिजा सार्वजनिकसँगै यस्ता समस्याको कारण पहिचान गरी सुधारात्मक कदम चाल्नु आवश्यक देखिन्छ ।
विद्यार्थी अनुपस्थितिको दरले विद्यार्थी टिकाइ सम्बन्धी प्रश्न उठारहेको अवस्थामा विद्यालयमा भर्ना भएका विद्यार्थी बीचमै पढाइ छाड्ने वा अन्यत्र स्थानान्तरण हुने प्रवृत्ति रोक्न स्थानीय तह र विद्यालयहरूले विशेष ध्यान दिनु आवश्यक छ । नियमित अनुगमन, अभिभावकसँग निरन्तर समन्वय, छात्रवृत्ति तथा प्रोत्साहन कार्यक्रम विस्तार र विद्यालय वातावरण सुधारजस्ता उपायहरूले विद्यार्थी टिकाउन सहयोग पु¥याउन सक्नुपर्छ । शिक्षा केवल परीक्षा पास गर्ने प्रक्रिया मात्र नभई दीर्घकालीन सिकाई र भविष्य निर्माणको आधार हो । त्यसैले विद्यार्थीलाई विद्यालयमै निरन्तर राख्ने वातावरण सिर्जना गर्नु स्थानीय सरकार, विद्यालय प्रशासन र समुदायको साझा दायित्व हो ।
