Home मुख्य समाचार प्रधानमन्त्रीको परिपक्व पहल

प्रधानमन्त्रीको परिपक्व पहल

काठमाडौं महानगरको प्रमुखको रुपमा साढे ३ वर्ष शासन गरेका बालेन्द्र शाह फागुन २१ को निर्वाचनबाट झण्डै दुइतिहाई सांसदको समर्थनमा शक्तिशाली प्रधानमन्त्रीको रुपमा गत शुक्रबार सपथसँगै पदभार ग्रहण गर्नुभयो । एउटा पालिकाको प्रमुखको रुपमा एक्लो उभिएर एक सय ५० भन्दा बढी जनप्रतिनिधिहरुसँग लड्दै, भिड्दै बालेन्द्र शाहले आफ्नो भविष्यको मार्ग प्रसस्त गरे । समग्र नीति, रणनीतिको चलाखीपूर्व कार्यान्वयन गर्दै जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ उपाध्यक्ष बालेन्द्र शाहले गत शुक्रबार पदभार ग्रहण गरेदेखि तीव्र गतिमा काम भइरहेको छ । भ्रष्ट्राचार नियन्त्रण, जेन जी आन्दोलनको दोषीलाई कारवाहीसँगै संघीय सरकारको नियमित कामलाई सशक्त कार्यान्वयनमा अग्रसर बालेन्द्र शाहले भोलि बिहिबार संसद बैठक आव्हान गरेका छन् । ३६ वर्षे युवाले पछिल्लो ५ वर्षको अवधिमा सिंगो मुलुकको राजनीतिलाई वैकल्पिक मार्गमा स्थापित गर्न सफल भएका छन् ।

प्रधानमन्त्रीका रुपमा बालेन्द्रले कर्मचारी प्रशासनलाई परिचालन गर्ने, संघीय सांसदहरुलाई जिम्मेवार बनाउने विषयमा सशक्त काम गरिरहेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले सोमबारबाट प्रदेशगत सांसदहरुसँग अन्तरक्रिया समेत गर्दै सरकारले काखा र पाखा नगर्ने, जनताको सेवामा समर्पित हुने बताए । प्रधामन्त्री बालेन्द्र शाहले मंगलबार सांसदहरुलाई थप जुझारु शैलीमा निर्देशन दिनुहुँदै कर्मचारी प्रशासनलाई जिम्मेवार हुन अग्रसर हुनुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुलाई आआफ्नो क्षेत्रका जनताको कुरा सुन्न, जनभावनाअनुसार काम गर्न आफू तयार रहेको र त्यसमा सांसदहरुले पनि मिहिनेत गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री शाहले सांसदहरुलाई सरकारको प्राथमिकता, बजेट विनियोजनमा समान दृष्टिकोणले काम गर्ने प्रतिवद्धता समेत गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार भएको छलफलमा कोशी र कर्णाली प्रदेशका सांसदहरूले स्थानीय समस्या, विकास आयोजना, बजेट, सामाजिक सुरक्षा लगायतका विषय राखेका थिए । प्रदेशका सामूहिक समस्या, प्रत्येक निर्वाचन क्षेत्रका समस्याको सन्दर्भमा प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो भने प्रधानमन्त्री बालेन्द्रले बजेटको आधारमा विकास आयोजनालाई प्राथमिकतामा राख्ने र सबै क्षेत्रमा समान रुपमा बजेट वितरण गर्ने प्रतिवद्धता जनाउनुभयो । सरकार गठन भएर सदनको बैठक आव्हान नै नगर्दा प्रधानमन्त्रीले प्रदेशगत सांसदलाई बोलाएर सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा ध्यान दिएको हो । सांसदहरु आफ्ना विचार प्रस्तुत गर्न संसद मात्रै नभएर सरकार र राज्यका अन्य संयन्त्रहरु पनि रहेछ भनेर खुसी देखिएका छन् । सदनमै जायज मुद्दामा बोल्दा समेत सम्बोधन नहुने हिजोको परम्परा विपरित सरकारले जनप्रतिनिधिको सम्मानसहित सक्दो साथ, सहयोग र सहकार्यका लागि गरिएको आव्हान एउटा परिपक्व, वौद्धिक र सक्षम नेताको रुपमा आफूलाई प्रस्तुत गर्न सफल भएका छन् ।

परिपक्व सरकारको रुपमा बुझाउन एकजना युवा प्रधानमन्त्रीको प्रयासले मुलुकको भविष्य उज्यालो हुने अनुमान समेत गर्न सकिन्छ । बलियो जनमतका कारण प्रधानमन्त्री बालेन्द्र शाहबाट दम्भको त्रास विपरित सहज सम्बन्ध र सशक्त प्रस्तुती आफैँमा प्रशंसनीय छ । युवा प्रधानमन्त्रीको परिपक्व अगुवाईले छिट्टै मुलुकलाई सबल बनाउने आशा पनि गर्न सकिन्छ ।

Exit mobile version