हेटौँडा:मकवानपुर जिल्लाको १० पालिकामा आधारभूत परीक्षा सकिएको छ । सबै पालिकामा चैत ८ गतेबाट सुरु भएको परीक्षा सोमबार सकिएको हो । परीक्षामा ९ वटा पालिकामा ३ सय ३८ जना विद्यार्थी अनुपस्थित भएका छन् ।
परीक्षामा मकवानपुरगढी गाउँपालिकामा ८० जना परिक्षार्थी अनुपस्थित भएका छन् भने सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकामा एक जना अनुपस्थित भएका छन् । फारम भरेका मध्ये केहि विद्यार्थीले अरु नै विद्यालयमा जाने, बीचमै पढाई छाड्ने लगायतका कारण विद्यार्थी परीक्षामा अनुपस्थित भएको पालिकाका शिक्षा शाखाका प्रमुखहरुको भनाई छ । साथै १ कक्षादेखि ९ कक्षासम्मको वार्षिक परीक्षा ९ वटा पालिकामा सकिएको छ भने हेटौँडा उपमहानगरको विद्यालय आफैँले संचालन गर्ने भएकाले समयानुकुल संचालन भइरहेको छ ।
हेटौँडा उपमहानगरपालिकाले विद्यार्थी संख्याको विवरण आफैँसँग राख्न विद्यालय जिम्मेवारी दिएको शिक्षा विकास महाशाखा निमित्त प्रमुख हरिचन्द्र सापकोटाले बताउनुभयो । पालिकाले ८ कक्षाको परीक्षाका लागि मिति तोकेको थियो भने बाँकी कक्षाका लागि विद्यालयलाई नै जिम्मेवारी दिएको उहाँको भनाई छ ।
मकवानपुरको बागमती, इन्द्रसरोवर, मकवानपुरगढी, मनहरी, भीमफेदी, थाहा, राक्सिराङ र कैलाशमा ८ गते आइतबारबाट परीक्षा सुरु भएको थियो भने बकैया गाउँपालिकामा ५ गतेबाट १५ गतेसम्म संचालन भएको थियो । सबै विद्यालयहरुले पालिकाको क्यालेण्डर र निर्णय अनुसार परीक्षा संचालन गरेको पालिकाका शिक्षा शाखा प्रमुखहरुले बताएका छन् । सबै कक्षाको नतिजा चैत महिनाभित्र सार्वजनिक हुने बताइएको छ ।
मकवानपुरको बागमती गाउँपालिकामा यस वर्ष ८ कक्षाको परीक्षाका ७१ जना विद्यार्थी अनुपस्थित भएका छन् । पालिकाका शिक्षा शाखा प्रतिनिधि प्रमोद राईका अनुसार ४९१ जना विद्यार्थीले परीक्षा फारम भरेका थिए भने ४२० जना मात्रै परीक्षामा सहभागी भएका छन् । परीक्षाको नतिजा चैत महिना भित्र नै सार्वजनिक गर्ने उहाँको भनाई छ ।
यस्तै बकैया गाउँपालिकामा ५० जना अनुपस्थित भएका छन् । परीक्षा फारम ६८१ जनाले भरेका थिए भने परीक्षामा ६३१ जना मात्रै सहभागी भएका छन् । नतिजा चैत २७ गते हुने पालिकाका प्राविधिक सहायक आशमान बोम्जनले जानकारी दिनुभयो । इन्द्रसरोवर गाउँपालिकामा १ जना मात्रै विद्यार्थी अनुपस्थित भएको शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तले जानकारी दिनुभयो । परीक्षा फारम १७१ जनाले भरेका थिए भने १ जना मात्रै परीक्षामा अनुपस्थित भएको उहाँले बताउनुभयो । नतिजा चैत २० गते भित्र सार्वजनिक गर्ने उहाँको भनाई छ ।
राक्सिराङ गाउँपालिकामा ५४ जना विद्यार्थी अनुपस्थित भएका छन् । ३८० जनाले परीक्षा फारम भरेका थिए भने ३२६ जना परीक्षामा सहभागी भएको पालिकाका शिक्षा शाखाका संजयप्रसाद गुप्ताले बताउनुभयो । चैत महिनाभरिमा परीक्षाको नतिजा सार्वजनिक गरिने उहाँको भनाई छ । मकवानपुरगढी गाउँपालिकामा ८० जना विद्यार्थी अनुपस्थित भएका छन् । पालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर घलानका अनुसार ३६८ जनाले फारम भरेका थिए भने ३२६ जना मात्रै परीक्षामा सहभागी भएका थिए । नतिजा चैत २५ गते सार्वजनिक हुनेछ ।
कैलाश गाउँपालिकामा १४ जना विद्यार्थी अनुपस्थित भएका छन् । पालिकाका शिक्षा शाखाका समीर जोशीका अनुसार ३०९ जनाले परीक्षा फारम भरेका थिए भने २९५ जना परीक्षामा सहभागी भएका थिए । नतिजा २२ गतेभित्र सार्वजनिक गर्ने उहाँको भनाई छ । मनहरी गाउँपालिकाबाट ४७ जना विद्यार्थी अनुपस्थित भएका छन् । पालिकाका शिक्षा शाखा प्रमुख प्रदिप पराजुलीका अनुसार ८१३ जनाले परीक्षा फारम भरेका थिए भने ७६६ जना परीक्षामा सहभागी भएका थिए । नतिजा २५ गतेभित्र सार्वजनिक गर्ने उहाँको भनाई छ । थाहा नगरपालिकामा ९ जना विद्यार्थी अनुपस्थित भएका छन् ।
पालिकाका शिक्षा अधिकृत माधवविक्रम मल्लका अनुसार ६०३ जनाले परीक्षा फारम भरेका थिए भने ५९४ जना परीक्षामा सहभागी भएका थिए । नतिजा २५ गतेदेखि २० गते भित्र सार्वजनिक हुने उहाँको भनाई छ ।
