Home खेलकुद पुलिस क्लबले कोशीलाई ६ विकेटले हरायो

पुलिस क्लबले कोशीलाई ६ विकेटले हरायो

प्लेयर अफ द म्याच पुलिस क्लबका दिनेश खरेललाई ट्रफी प्रदान गरिँदै ।

हेटौँडा:प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई पराजित गरेको छ । मंगलबार विरगंजमा भएको खेलमा विभागीय टोली पुलिस क्लबले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ ।

जारी प्रतियोगितामा मंगलबार भएको खेलमा विभागीय टोली पुलिस क्लबले टस जितेर बलिङ रोजेको थियो । कोशीले ४२ ओभर ५ बलमा अलआउट हुँदै पुलिस सामु १६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कोशी प्रदेशका कप्तान सुजन थपलियाले ४८ रन, सुमन श्रेष्ठले ४३ रन र अंकित सुवेदीले २६ रन बनाए । पुलिस क्लबका दिनेश खरेलले ५ विकेट, ललितनारायण राजवंशी र सागर ढकालले समान २ विकेट लिए ।

जवाफी व्याटिङ गरेको नेपाल पुलिस क्लब खेलको ३४ औँ ओभरमा लक्ष्य भेटाउन सफल भयो । पुलिस क्लबले ३३ ओभर ५ बलमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । पुलिस क्लबका कप्तान आरिफ शेख र रासिद खान अविजित रहँदै क्रमशः ८१ र ७३ रन बनाए । कोशीका विपिन कुमार महतोले २ विकेट र दिपेश कंडेलले १ विकेट लिए । पुलिस क्लबका दिनेश खरेल प्लेयर अफ द म्याच घोषित भए ।

यो जितसँगै पुलिस क्लबले मधेश प्रदेशलाई उछिन्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । ५ खेलबाट ७ अंक जोडेका पुलिस क्लब शिर्ष स्थानमा छ भने समान ५ खेलबाट १ अंक मात्र जोड्न सकेका कोशी प्रदेश अंक तालिकाको पुच्छारमा रहेको छ । कोशी प्रदेश जारी प्रतियोगिता हालसम्म एउटा पनि खेल जित्न सकेको छैन ।

Exit mobile version