सांकेतिक चित्रः गुगल ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का एक कोरोना सङ्क्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । उनको गएराती चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतकका ५२ वर्षीया श्रीमतीलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज आएको रिपोर्टमा कोरोना पोजेटिभ आएको हो । मृतकको छोराको रिपोर्ट भने आउन बाँकी रहेको छ । ५८ वर्षीय पुरुषलाई भदौ १४ गते अस्पताल लगिएको थियो । भदौ १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । लामालाई केहि दिन अगाडिबाट ज्वरो आएको र टाइफाइड समेत भइसकेकोले उपचारका लागि ढिलाई भएकोले मृत्यु भएको अस्पताल स्रोतले बताएको हेटौंडा १५ का वडा अध्यक्ष महारत्न लामाले जानकारी दिनुभयो । परिवारको अन्य सदस्य र सम्पर्कमा आएकाहरुको स्वाब सङ्कलनको तयारी भइरहेको वडा अध्यक्ष लामाले बताउनुभयो ।

१५ नम्बर वडामा हालसम्म १० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये एकजनाको गएराती मृत्यु भयो भने एकजना कोरोना सङ्क्रमणमुक्त भइसकेका छन् । ८ जना सङ्क्रमितको उपचार भइरहेको छ । सङ्क्रमितहरु होम आइसोलेसनमा रहेको वडा अध्यक्ष महारत्न लामाले बताउनुभयो ।