हेटौँडाः यस वर्षको सुख्खा मौसम सुरु हुँदै गर्दा हेटौंडामा आगलागी रोकथामका लागि विपद् व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा सामुदायिक वन उपभोक्ता समिति महासंघको समन्वयमा अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा डिभिजन वन कार्यालय हेटौँडाका प्रमुख राकेशप्रसाद चन्द्रवंशीले अघिल्लो वर्षको सुख्खा मौसममा अत्याधिक आगलागीका घटना भएको भन्दै यस वर्षको सुख्खा मौसम सुरु हुँदै गर्दा न्यूनीकरणका लागि पूर्वतयारी गर्न सामुदायिक वन उपभोक्ता समितिहरुलाई आग्रह गर्नुभयो । उहाँले कार्यपत्र प्रस्तुत गर्दै अघिल्लो वर्ष चैत महिनामा मकवानपुरको हेटौँडा उपमहानगरपालिका, भीमफेदी, मकवानपुरगढी, बकैया र बागमती गाउँपालिकाहरुमा ६६ स्थानका कुल ४ सय ८६ हेक्टर क्षेत्रफल वनक्षेत्रमा डँढेलो लागेको जानकारी दिनुभयो ।
यी क्षेत्रहरुमध्ये सबैभन्दा बढी मकवानपुरगढीमा ८ स्थानमा २ सय २६ हेक्टर क्षेत्रफलमा आगलागी भएको थियो । स्थानको हिसाबले सबैभन्दा धेरै बागमती गाँउपालिकामा २४ स्थानमा १ सय २१ हेक्टर क्षेत्रफलमा आगलागी भएको पनि चन्द्रवंशीले जानकारी दिनुभयो । हेटौँडा उपमहानगर क्षेत्रभित्र १२ स्थानमा ५६ हेक्टर क्षेत्रफल, भीमफेदीमा एक स्थानमा २४ हेक्टर र बकैयामा २१ स्थानमा ६० हेक्टर क्षेत्रफलमा आगलागी भएको पनि उहाँले जानकारी दिनुभयो ।
आगलागी हुनुमा ९६ प्रतिशत मानवीय कारण रहेको पाइएको समेत उहाँले स्पष्ट पार्नुभयो । मानवीय कारणहरुमध्ये ६४ प्रतिशत जानजान आगो लगाइएको र ३२ प्रतिशत घटना अन्जानमा आगलागी हुन गएको तथ्याङ्कले जनाएको छ । यस वर्ष हालसम्म आगलागीका घटना नभएको भन्दै उहाँले मानवीयरुपमा सचेत हुँदा वनमा डँढेलोका घटना स्वतः न्यूनीरकरण हुँदै जाने सुझाव समेत दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कुमारी मोक्तानले राष्ट्रिय निकुञ्जहरुका मध्यवर्ती वा वनका छेउमा बसोबास गर्ने स्थानीय बासिन्दाको वनबाट हुने समस्या निराकरणक लागि स्थानीय सरकारले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले मध्यवर्ती क्षेत्रमा बसोबास गर्नेहरुले वनसम्बन्धी कठोर कानुनको सामना गरिरहेको भन्दै समस्या न्यूनीकरणका लागि स्थानीय तहहरुले नै समन्वय गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले वनको आवश्यक क्षेत्रलाई राम्रोसँग व्यवस्थापन गर्ने र विकासको कार्यमा बाधक बने लचिलो कानुन निर्माणद्वारा प्रयोग गर्न सहज बनाउनुपर्ने बताउनुभयो । उहाँले वन बढाएर कार्वन ब्यापारमात्र नहेरी विकासका कामलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका उपस्थित सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा सदस्यहरुले आफ्ना समूहले डढेलोबाट जोगिन गरेका कार्यप्रगति प्रस्तुत गरेका थिए ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय मनहरीका डिभिजन वन अधिकृत हेमबहादुर थापा, सामुदायिक वन उपभोक्ता समिति महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागाई, हेटौंडा उपमहानगरपालिका विपद् व्यवयस्थापन तथा वातावरण महाशाखाका अधिकृत हिमप्रसाद पौडेल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलगायत सामुदायिक वन समूहहरुका पदाधिकारीहरुको सहभागिता थियो ।











