हेटौँडाः गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा शून्य नतिजा प्राप्त भएका विद्यालयहरुसँग नतिजा सुधारका लागि आइतबार अन्तरक्रिया सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा गत वर्ष जिल्लामा शून्य नतिजा ल्याएका ७ वटा विद्यालयसँग यस वर्षको एसईईको नतिजा सुधारका प्रक्रियाबारे अन्तरक्रिया भएको हो ।
जिल्लाको थाहा नगरपालिका–७, आग्रास्थित सुन्दरीदेवी मावि, राक्सिराङ गाउँपालिका–४ स्थित कालिका मावि, वडा नं ८ स्थित श्री माध्यमिक बिद्यालय, वडा नं ८ कै प्रजाजगृति मावि, मनहरी गाउँपालिका–२ स्थित सीता मावि, बकैया गाउँपालिका–३ स्थित कालिका मावि र बकैया–१० स्थित प्रसिद्ध माविको गत शैक्षिक सत्रको एसईईमा शून्य नतिजा प्राप्त भएको थियो ।
ती विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकसँग अघिल्लो वर्षको नतिजाको कारणहरु, समस्याहरु र अबको परीक्षामा सकारात्मक नतिजाका लागि चाल्नुपर्ने कदमहरुबारे मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरी तथा जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले संयुक्तरुपमा छलफल गर्नुभएको थियो । छलफलका क्रममा विद्यालयहरुले विषयगत शिक्षकको कमी, ग्रामीण क्षेत्रमा चलिरहेको बालविबाहले पनि बालबालिकालाई पढाइबाट टाढा बनाइरहेको गुनासो गरेका छन् ।
कार्यक्रममा सहजीकरण गर्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले गत वर्षको तुलनामा यस वर्ष नतिजामा सुधार ल्याउन विषयगत शिक्षकको मात्र खोजी नगरी इन्टरनेट तथा प्रविधिको प्रयोग गरेर पठनपाठनको गुणस्तर र नतिजा दुबैमा स्तरोन्नति गर्न सक्ने सुझाव दिनुभएको छ । उहाँले केही दिनभित्रै यी पालिकाका शिक्षा समिति तथा शिक्षा शाखाहरुसँग समन्वय गरी अन्तरक्रिया गरिने समेत उहाँले जनाउनुभएको छ ।











