Home खेलकुद राष्ट्रिय महिला भलिबलः न्यू डाइमण्ड क्लब र स्टेप क्लब सेमिफाइनल प्रवेश

राष्ट्रिय महिला भलिबलः न्यू डाइमण्ड क्लब र स्टेप क्लब सेमिफाइनल प्रवेश

हेटौँडाः हेटौँडामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा काठमाडौँको न्यू डाइमण्ड स्पोर्टस् क्लब र लुम्बिनी प्रदेश स्टेप भलिबल क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौँडा–१० स्थित टिसिएन चौरमा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा शुक्रबार भएको खेलमा समूह ‘ए’ बाट न्यू डाइमण्ड क्लब समूह विजेता र स्टेप भलिबल क्लब समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

शुक्रबार भएको खेलमा डाइमण्ड क्लबले स्टेप भलिबल क्लबलाई ३–० को सोझो सेटले पराजित गरेको छ । डाइमण्ड क्लबले स्टेप क्लबलाई २५–१८, २५–१९ र २५–४ ले पराजित गरेको हो ।


यस्तै, शुक्रबार समूह ‘बी’ मा रहेका बागमती प्रदेशको केशवलाल स्मृति प्रतिष्ठान र कोशी प्रदेशको ब्राइट फ्यूचर स्पोर्टस् क्लबबीचको खेल वर्षाका कारण स्थगित भएको छ । चौथो सेट चलिरहँदा अचानक पानी आएपछि खेल रोहिएको हो । पहिलो सेटमा ब्राइट फ्यूचरले केशवलाल स्मृति प्रतिष्ठानलाई २५–१५ ले पराजित गरेको थियो । त्यसपछि लगातार दोस्रो सेटमा २५–१४ ले र तेस्रो सेटमा २५–१६ ले केशवलाल स्मृति प्रतिष्ठानले ब्राइट फ्यूचरलाई पराजित गरेको थियो । स्थगित खेललाई उपयुक्त मौसममा सुचारू गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागी भएका ६ वटा टोलीलाई दुई वटा समूहमा विभाजन गरिएको थियो । दुबै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । प्रतियोगिताको उपाधि विजेता टोलीले ३ लाख र उपविजेता टोलीले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनलमा पराजित हुने दुई टिमले ५० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Exit mobile version