Home मुख्य समाचार नगर अस्पतालमा डाक्टर टिकाउनै चुनौती

नगर अस्पतालमा डाक्टर टिकाउनै चुनौती


हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले सञ्चालन गरेको नगर अस्पतालहरुमा नियमितरुपमा डाक्टर टिकाउन चुनौती बन्दै गएको छ । उपमहाननगरको वडा नं १२ मा रहेको पदमपोखरी अस्पताल र वडा नं १६ मा रहेको हटिया अस्पतालमा नियमितरुपमा डाक्टर टिकाउन चुनौती बनेको हो ।

यी दुबै अस्पतालहरुमा एक–एक जना एमबीबीएस डाक्टर (मेडिकल अधिकृत) करार दरबन्दी रहेका छन् । यी दरबन्दीमा कम समय डाक्टर कार्यरत रहन्छन् भने धेरै समय दरबन्दी नै रिक्त रहिरहेको पाइन्छ । दुबै अस्पतालमा नियमितरुपमा चिकित्सक सेवा दिलाउन उपमहानगरपालिकालाई हम्मेहम्मे परिरहन्छ ।

पदमपोखरी अस्पतालमा कार्यरत डा. गजल पन्तले गत असारमा वैदेशिक यात्राका लागि राजीनामा दिएपछि ३ महिना पद रिक्त भई कात्तिकमा नयाँ चिकित्सकको रुपमा डा. सवना खातुन नियुक्त हुनुभएको थियो । यो समयमा हटिया अस्पतालमा भने डा. नरेन्द्र केसी कार्यरत हुनुहुन्थ्यो । तर एक महिनापछि मंसिरमा हटिया अस्पतालमा कार्यरत डा. केसीले पनि वैदेशिक यात्राका लागि भन्दै राजीनामा दिएपछि सो अस्पतालको दरबन्दी पनि रिक्त हुन पुगेको छ । हाल उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाले सो पदपूर्तिका लागि विज्ञापन गर्ने तयारी गरेको छ ।


गत मंसिरमा डा. केसीले राजीनामा दिएपछि हालसम्म पनि हटिया अस्पतालमा डाक्टरको सेवा रोकिएको जनस्वास्थ्य प्रमुख सूर्यप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँले दुबै नगर अस्पतालमा यस्ता समस्याहरु दोहोरिरहेकाले यसको दीर्घकालीन समाधानको पहल गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले कतिपय स्थानमा एमबीबीएस अध्ययन गर्न उपमहानगरपालिकाले छात्रवृत्ति दिएका विद्यार्थीहरुले एमबीबीएस उत्तीर्ण भएपछि कम्तीमा दुई वर्ष यी अस्पतालमा सेवा दिनुपर्ने व्यवस्था मिलाउन उपमहानगरपालिकामा छलफल भइरहेको जानकारी दिनुभयो ।
नगर अस्पतालको रुपमा वडाबासीहरुलाई आधारभूत स्वास्थ्य सेवाहरु उपलब्ध गराउँदै आएका यी अस्पतालहरुमा दैनिक ३० देखि ५० जनासम्म बिरामीहरु उपचारका लागि आउने गरेको हेटौँडा उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाले जनाएको छ । नगर अस्पतालहरु विशेष उपचार सेवा भन्दा पनि सामान्य स्वास्थ्य समस्याहरुको उपचार गर्ने उद्देश्यले निर्माण गरिएको बताउँदै जनस्वास्थ्य प्रमुख तिवारीले यी अस्पतालमा पूर्ण दरबन्दीमा जनशक्ति पु¥याउन सकेमात्र पनि सामान्य बिरामीहरुको चाप हेटौँडा अस्पतालमा नपर्ने उल्लेख गर्नुभयो ।


हाल हटिया अस्पतालमा एक जना मेडिकल अधिकृत (डाक्टर) सहित २ जना सिनियर अहेब, १ जना ल्याब टेक्निसियन, २ जना अहेब, १ जना सिनियर अनमी, १ जना अनमी र २ जना कार्यालय सहयोगीसहित कुल १० जना कर्मचारीहरुको दरबन्दी छ । यीमध्ये १ जना सिनियर अहेब र १ जना सिनियर अनमीको पद स्थायी र बाँकी अन्य पद करारका रहेका छन् ।


यस्तै, पदमपोखरी अस्पतालमा पनि एक मेडिकल अधिकृत (डाक्टर) सहित २ जना सिनियर अहेब, १ जना रेडियोलोजिष्टसहित ल्याब टेक्निसियन, १ जना अहेब, १ जना सिनियर अनमी, १ जना अनमी र १ जना कार्यालय सहयोगीसहित कुल ८ जना कर्मचारीहरुको दरबन्दी छ । यस अस्पतालमा २ जना अहेब र १ जना अनमीको पद स्थायी र बाँकी पदहरु भने करारमा रहेका छन् । दुबै अस्पतालमा डाक्टरबाहेक अन्य दरबन्दीमा भने स्थिररुपमा कर्मचारीले काम गरिरहेको जनस्वास्थ्य शाखाले जनाएको छ ।

Exit mobile version