हेटौँडा : ‘बालबालिका राष्ट्रिय गौरव हुन्’ भन्ने मूल नाराका साथ बाल अधिकार तथा बाल संरक्षण विषयक मकवानपुर जिल्लास्तरीय कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुर र सिविन नेपालको संयुक्त आयोजनामा बिहिबार कार्यक्रम भएको हो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी महिला, बालबालिका तथा समावेशी महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेले ‘बाल अधिकार प्रवद्र्धनमा स्थानीय तहको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले सन् २०३० सम्ममा देशभरका सबै स्थानीय तहलाई बालमैत्री घोषणा गर्ने लक्ष्य रहे पनि हालसम्म करिब ३० वटा स्थानीय तह मात्रै बालमैत्री घोषणा भएको जानकारी दिनुभयो । उहाँले बालमैत्री स्थानीय शासन घोषणा गर्नु मात्र ठूलो कुरा नभई त्यसलाई दिगो बनाउनु र निरन्तरता दिनु चुनौतीपूर्ण रहेकोमा जोड दिनुभयो ।
प्रस्तुतीकरणका क्रममा लामिछानेले संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धि–१९८९ मा उल्लेखित बाल अधिकारका चार आयामहरू (बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताका) बारेमा स्पष्ट पार्नुभयो । साथै, नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन २०७५, बालबालिका सम्बन्धी नियमावली २०७८, बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ लगायतका कानुनी प्रावधानहरू र स्थानीय तहमा बालमैत्री शासन कार्यान्वयनका लागि जारी गरिएका निर्देशिका र कार्यविधिहरूका बारेमा पनि चर्चा गर्नुभयो ।
कार्यक्रममा मकवानपुरका १० स्थानीय तहमध्ये भीमफेदी गाउँपालिका बाहेक अन्य ९ वटा पालिकाले बालमैत्री स्थानीय शासनका क्षेत्रमा भएका प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । हेटौँडा उपमहानगरपालिकामा ९ वटा र भीमफेदी गाउँपालिकामा एउटा गरी मकवानपुरमा १० बाल गृह सञ्चालनमा रहेका छन् । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कन्चन चन्द्र वादेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सानुकाजी लुईटेल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्री लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।











