हेटौंडा : हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ को कार्यालयले वडाबासीले प्रयोग गर्ने न्यूनतम १० हजार लिटर पानीे निशूल्क वितरण गर्ने भएको छ । वडा कार्यालयले वडावासीलाई न्यूनतम १० हजार लिटर पानीको शुल्क वडाले नै व्यहोर्र्ने जनाएको छ ।
वडा कार्यालयले बिहीबार एक कार्यक्रम गर्दै गत पुसमा भएको नगरसभाले पास गरेको संशोधित बजेट मार्फत खानेपानीको न्यूनतम शूल्क नलिने वडाध्यक्ष सुनिल मोक्तानले जानकारी दिनुभयो । संशोधित बजेटमार्फत वडाले २ हजार ३ सय ६ घरधुरीलाई लक्षित गरी न्यूनतम महसुल निशूल्क गर्ने निर्णय गरेको जनाएको छ । वडाबासीहरुलाई न्युनतम १० हजार लिटर पानीको शुल्क बराबर बार्षिक रुपमा २४ लाख भन्दा बढी लाग्ने अनुमान गरेको वडा अध्यक्ष मोक्तानले स्पष्ट पार्नुभयो । चालु आर्थिक वर्षको माघदेखि असार मसान्तसम्मका लागि यसै शिर्षकमा ११ लाख ८५ हजार बजेट बिनियोजन समेत गरिएको वडा अधयक्ष मोक्तानले कार्यक्रममा बताउनुभयो ।
वडाभित्रका १९ वटा टोलविकास संस्था मार्फत उपभोक्ताका न्युनतम शुल्कको बिलसहित वडा कार्यालयमा उपस्थित हुनुपर्ने र वडा कार्यालयले सम्बन्धित खानेपानी सेवा प्रदायक संस्थालाई शुल्क तिरिदिने वडा कार्यालयले जनाएको छ । टोल विकास संस्थाहरुलाई सक्रिय तथा थप जिम्मेवार बनाउनका लागि वडाले टोल विकास संस्थाहरु मार्फत प्रक्रिया गराउने निर्णय गरेको समेत अध्यक्ष मोक्तानले स्पष्ट पार्नुभयो । यसअघि हेटौँडा उपमहानगरपालिकाले खानेपानीको न्यूनतम महसुल निशूल्क गरेको थियो ।
१० हजार लिटर भन्दा बढी पानी उपभोग गरेको अवस्थामा पूरै शुल्क लाग्ने छ । यद्यपी उपमहानगरपालिकाले यसै आर्थिक वर्षबाट सो कार्यक्रम कटौती गरेको थियो । वडा कार्यालयले भने न्यूनतम शुल्क सबै वडाबासी उपभोक्ताहरुको मिनाहा गर्ने र अधिकतम उपभोग पानीको थप मुल्य मात्र तिर्नुपर्ने वडा कार्यालयले जनाएको छ ।
बिहिबार नै वडा कार्यालयले बिरामी भई एम्बुलेन्स तथा उपचारमा रगतको खर्च वापतको रकम पनि उपलब्ध गराउन सुरुवात गरेको छ । वडा कार्यालयले बिरामीलाई अस्पतालसम्म लैजान एकतर्फी एम्बुलेन्स भाडा खर्चबापत वडाले रकम प्रदान गरेको हो । कार्यक्रममा वडाले माघ यता सो कार्यक्रम सुरु भएपछि निशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका २ जनालाई सो बापतको १० हजार बराबरको रकम प्रदान गरिएको थियो । असारसम्म परीक्षणको रुपमा हेर्न लागिएको यस कार्यक्रमका लागि वडाले ५० हजार रुपैयाँ बजेट बिनियोजन गरेको समेत जनाइएको छ ।
वडाबासीलाई खानेपानीमा सहुलियत तथा स्वास्थ्य सेवामा सस्तो पहुँच दिनका लागि सुरु गरिएका यि दुवै कार्यक्रम प्रभावकारी भएमा आउँदा वर्षहरुमा पनि निरन्तर चलिरहने वडा अध्यक्ष सुनिल मोक्तानले उल्लेख गर्नुभयो ।











