हेटौँडा: काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोट प्रतियोगितामा काठमाडौं जिल्लाको टिम फाइनल प्रवेश गरेको छ । राउण्ड रोविन प्रणालीमा आयोजना गरिएको प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । सिंगल राउण्ड रोविनको पाँच खेलमा जित दर्ता गर्दै १० अंकसहित तालिकाको शीर्षस्थानमा रहेको काठमाडौं फाइनलमा पुगेको हो ।
शनिबार भएको खेलमा दोस्रो स्थानमा रहेको ललितपुरलाई पराजित गर्दै काठमाडौं फाइनल प्रवेश गरेको हो । हारका बाबजुद ५ खेलमा ४ जित निकालेको ललितपुर ८ अंकसहित दोस्रो स्थानमा छ । टस जितेर पहिले व्याटिङ गरेको काठमाडौंले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८१ रन बनायो । काठमाडौंका लागि सोनु देवकोटाले ७२ रन, उत्तम थापा मगरले ७१ रन, अभिषेक बुढाऐरले ३९ रनको योगदान गरे । २ सय ८२ रनको लक्ष्य पछ्याएको ललितपुरले ३५ ओभर ४ बलमा २ सय २ रन जोड्दा अल आउट भयो । ललितपुरका लागि विवेक राना मगरले ८८ रन, आयुतोष घिरैयाले ५१ रनको योगदान दिए पनि हारबाट जोगाउन सकेनन् । ललितपुरविरुद्ध काठमाडौंका दयानन्द मण्डल र सोनु देवकोटाले ४/४ विकेट लिए । म्यान अफ द म्याच काठमाडौंका सोनु देवकोटा घोषित भए ।
यस्तै शनिबार नै भएको अर्को खेलमा भक्तपुरले नुवाकोटलाई १ सय ६४ रनले पराजित गर्यो । टस जितेर पहिले व्याटिङ रोजेको भक्तपुरले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ३ सय ८० रनको विशाल योगफल तयार पा¥यो । भक्तपुरका लागि शिव तिवारीले १ सय १३ रन, सौरभ शाखकर्मीले ८९ रन योगदान गरे । नुवाकोटको कमजोर बलिङका कारण भक्तपुरले अतिरिक्त ३९ रन पाएको थियो । नुवाकोटका इशान पाली र विधान खतिवडाले ३/३ विकेट लिए । ३ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको नुवाकोटले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १६ रन मात्रै जोड्न सफल भयो । नुवाकोटका लागि अनुभव खनालले ४७ रन, राजेश रिमालले ३८ रन, मञ्जीत थपलियाले ३७ रन जोडे । भक्तपुरका शिव तिवारीले ४ विकेट लिँदा सुवास खत्रीले ३ विकेट लिए । भक्तपुरका शिव तिवारी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताअन्तर्गत मकवानपुरले आज आइतबार पाँचौं खेल चितवनसँग खेल्नेछ भने नुवाकोटले त्रिभुवन विश्वविद्यालयको टिमसँग खेल्नेछ ।











